टनेलभित्र बाढी मात्रै होइन, लेदोले पूरै थुनिएको छ, तत्काल उद्धार गर्ने प्रविधि विश्वमै छैन: प्रधानमन्त्री शाह

विज्ञापन
ncell

तर पछिल्लो बाढीमा पहिरो खसेको नभई बाढीसँगै आएको हिलो, माटो र लेदोले सुरुङ नै पूर्णरूपमा भरिएकाले त्यसलाई तत्काल हटाएर उद्धार गर्न सक्ने प्रविधि विश्वमै उपलब्ध नरहेको उनको दाबी छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाको तत्काल उद्धार गर्न नसक्नुको कारणबारे संसदमा स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री शाहले नेपालमा आएको पछिल्लो विपद् असाधारण प्रकृतिको रहेको भन्दै सुरुङभित्र बाढीको पानीसँगै ठूलो मात्रामा माटो र लेदो पसेर पूरै थुनिएकाले उद्धार कार्य जटिल बनेको बताएका हुन् ।

उनका अनुसार सामान्यतया सुरुङ वा पहिरोमा फसेकाको उद्धार गर्दा पहिरो पन्छाएर उद्धार गर्ने गरिन्छ । तर पछिल्लो बाढीमा पहिरो खसेको नभई बाढीसँगै आएको हिलो, माटो र लेदोले सुरुङ नै पूर्णरूपमा भरिएकाले त्यसलाई तत्काल हटाएर उद्धार गर्न सक्ने प्रविधि विश्वमै उपलब्ध नरहेको उनको दाबी छ ।

संसदमा शाहले भने, हाम्रो टनेलमा आएको विपद् विशेष किसिमको छ । विश्वभरिका एक्सपर्टहरूले पहिरो पन्छाएर उद्धार गर्ने गरेका छन् । तर यहाँ पहिरो खसेको होइन, बाढीसँगै हिलो माटोले पूर्णरूपमा टनेलहरू थुनिएका छन् । तत्कालै गर्न सकिने प्रविधि अहिलेसम्म कोहीसँग पनि छैन ।’ उनले सुरुङबाहिर समेत बाक्लो लेदो भएकाले उद्धारमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरीलाई समेत काम गर्न कठिन भएको बताए ।

शाहका अनुसार सुरुङसम्म पुग्न उद्धारकर्मीले लेदोमा सुतेर समेत प्रयास गरेका थिए । तर त्यहाँ एक्साभेटर तथा हेलिकोप्टर राख्नसमेत सकिने अवस्था थिएन । ‘लेदोमा आर्मी र सशस्त्र प्रहरी पनि अडिन सक्ने ठाउँ थिएन । उहाँहरूले सुतेर पुग्ने प्रयास गर्नुभयो । एक्साभेटर र हेलिकोप्टर पनि राख्न सकिने थिएन । त्यो अडिने ठाउँ भएपछि मात्र त्यहाँ उद्धारको काम सुरु गरिएको हो,’ उनले भने ।

प्रधानमन्त्री शाहले सुरुङभित्रको अवस्थालाई सामान्य पहिरो वा बाढीको घटनासँग तुलना गर्न नमिल्ने भन्दै उद्धारका लागि आवश्यक प्रविधि र विशेषज्ञताको अभावसमेत चुनौती बनेको स्पष्ट पारे ।