प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
प्रधानमन्त्रीको नेतृत्वदायी भुमिकामाथि प्रश्न उठाउँदै दाहालले सरकारले जिम्मेवारीपूर्ण ढंगले काम गर्न नसकेका कारण विपद्को समयमा नागरिकले सास्ती खेप्नुपरेको समेत बताए ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् । संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
सुरुका दिनमा देखिएको तत्परता क्रमशः कमजोर हुँदै गएको उल्लेख गर्दै दाहालले उद्धारका प्रयासहरूले अपेक्षित नतिजा निकाल्न नसकेको बताए । प्रधानमन्त्रीले संसद्मा प्रश्तुत गरेका कतिपय तथ्यहरू भ्रामक रहेको समेत दाहालले दाबी गरे । उद्धारमा प्रयोग गरिएका उपकरण, प्राविधिक विज्ञता र टनेल (सुरङ) भित्रको वस्तुस्थितिका बारेमा प्रधानमन्त्रीले गलत जानकारी दिएको भन्दै सदनमा समेत सो विषयमा बहस भएको उनले उल्लेख गरे ।
उनले भने, ‘मैले संसदको रोस्टमबाटै पनि भनिसकेको छु, उद्धार कार्यमा सरकार सफल छैन । शुरुमा केही तत्परता देखिए पनि पछि यो फितलो हुँदै गयो । समग्रमा उद्धार कार्य मूलभूत रूपमा सफल हुन सकेन । प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्छ र सबै पक्षबीच सहकार्य तथा सहमतिको वातावरण निर्माण गर्ने मुख्य जिम्मेवारी उहाँकै हुन्छ । तर वर्तमान प्रधानमन्त्रीको कार्यशैलीमा त्यस्तो समन्वयकारी भूमिका देखिएन ।’
प्रधानमन्त्रीको नेतृत्वदायी भुमिकामाथि प्रश्न उठाउँदै दाहालले सरकारले जिम्मेवारीपूर्ण ढंगले काम गर्न नसकेका कारण विपद्को समयमा नागरिकले सास्ती खेप्नुपरेको समेत बताए ।
