राष्ट्र बैंकद्वारा ३ महिनाका लागि १८ अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

विज्ञापन
ncell

प्रत्येक बोलमा न्यूनतम १० करोड रुपैयाँका दरले रकम प्रस्ताव गर्न सकिनेछ ।


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १८ अर्ब रुपैयाँ ३ महिनाका लागि निक्षेप संकलन गर्ने भएको छ । 

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट अनलाइन बोलकबोलमार्फत निक्षेप लिन लागेको हो। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।

बोलकबोल भदौ १८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ । प्रत्येक बोलमा न्यूनतम १० करोड रुपैयाँका दरले रकम प्रस्ताव गर्न सकिनेछ । कुल आह्वान रकम नपुगेसम्म बोलअनुसार रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

आह्वान गरिएको रकमभन्दा बढी बोल प्राप्त भएमा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ । समान ब्याजदरमा प्राप्त बोलको रकम कुल निष्कासित रकमभन्दा बढी भए प्रो-राटा आधारमा बाँडफाँट हुनेछ । राष्ट्र बैंकले निक्षेपको साँवा तथा ब्याज मंसिर १६ गते भुक्तानी गर्नेछ। स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा जम्मा गरिनेछ । निक्षेप संकलन उपकरणमा राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको धितोलाई धितोका रूपमा प्रयोग गर्न सकिनेछ ।