जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा

विज्ञापन
ncell

उनले अब नेपालले राहत नभई जलवायु न्याय र क्षतिपूर्ति माग गर्नुपर्ने बेला आएको बताए ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवार रहेको बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपालले स्वंयले कार्बन उत्सर्जन नगरे पनि बाढी तथा अन्य जलवायुजन्य विपद्को क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । उनले अब नेपालले राहत नभई जलवायु न्याय र क्षतिपूर्ति माग गर्नुपर्ने बेला आएको बताए । उनले यदि हामी कुनै पनि कारण वा दोषको भागीदार छैनौं भने हामीले किन मलू्य चुकाउनुपर्ने ? भन्दै प्रश्न गरे । उनले नेपालले वन क्षेत्र विस्तार, विद्युतीय सवारी साधनको प्रयोग र जलविद्युत् विकासमार्फत जलवायु संरक्षणमा योगदान गर्दागर्दै पनि जलवायु परिवर्तनको असरको सिकार हुनुपरेको बताए । उनले जलवायु न्यायको विषयमा सबै राजनीतिक दलहरु एकजुट भएर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

उनले प्रधानमन्त्री बालेन्द्र साहलाई समेत संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय फोरममा यस विषयलाई जोडदारका साथ उठाउन आग्रह गरे ।