एनसेलका सीईओ माइकलले दिए राजीनामा, डिल्लीराम श्रेष्ठ अन्तरिम सीईओ
नयाँ सीईओ नियुक्त नभएसम्मका लागि कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई ‘लिमिट्स अफ अथोरिटी’ सहित अन्तरिम सीईओको जिम्मेवारी सुम्पिएको छ ।
काठमाडौं । नेपालको एक प्रमुख बहुराष्ट्रिय कम्पनी एनसेलका सीईओ माइकल फोलेले आफ्नो पदबाट राजीनामा दिएका छन् । नियुक्ति लिएको १० महिना पनि नपुग्दै फोलेले राजीनामा दिएका हुन् ।
पारिवारिक कारण देखाएर सीईओ फोलेले राजीनामा दिएको र ९ भदौमा स्वीकृतिसमेत भएको एनसेलले पुष्टि गरेको छ । यसबारे नेपाल दूरसञ्चार प्राधिकरणमा जानकारी गराइसकिएको एनलसेलले जनाएको छ ।
नयाँ सीईओ नियुक्त नभएसम्मका लागि कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई ‘लिमिट्स अफ अथोरिटी’ सहित अन्तरिम सीईओको जिम्मेवारी सुम्पिएको छ ।
एनसेलको २५ वर्षे अनुमतिपत्रको अवधि सकिन अब करिब तीन वर्ष मात्रै बाँकी छ । यही अवस्थामा दूरसञ्चार प्राधिकरणले पूर्वस्वीकृति नलिई कम्पनीका जग्गा, भवन, उपकरण तथा बीटीएस टावरलगायत सम्पत्ति बिक्री, हस्तान्तरण वा धितो राख्न रोक लगाएपछि कम्पनीमाथि थप नियामकीय दबाब बढेको छ ।
फोले नेपाल आउँदा उच्च गतिको ५जी सेवा विस्तार, घरघरमा फाइबर इन्टरनेट पुर्याउने तथा आधुनिक डाटा सेन्टर निर्माणजस्ता योजनालाई अघि बढाउने लक्ष्यमा थिए । सरकारले अनुकूल वातावरण बनाइदिए नेपालमा करिब २५ करोड अमेरिकी डलर थप लगानी गर्ने योजना पनि उनले अघि सारेका थिए ।
तर, अनुमतिपत्रको भविष्य, सम्पत्तिमाथिको नियामकीय नियन्त्रण, कानुनी विवाद तथा सरकारी नीतिको अनिश्चितताका कारण प्रस्तावित लगानी कार्यान्वयनमा चुनौती थपिएको देखिन्छ । निजी क्षेत्र र विदेशी लगानीकर्ताले लामो समयदेखि लगानीको सुरक्षा, नीतिगत स्थिरता र स्पष्ट नियमनको माग गर्दै आएका छन् । एनसेलको पछिल्लो घटनाक्रमले ती विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ ।
यसबीच स्मार्ट टेलिकमको सम्पत्ति खरिद-बिक्रीसँग सम्बन्धित प्रकरणमा एनसेल तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च अधिकारीसमेत कानुनी विवादमा तानिएपछि एनसेल व्यवस्थापनमाथि थप दबाब परेको थियो । विदेशी लगानीसँग जोडिएका व्यावसायिक निर्णयहरू नै कानुनी अनुसन्धान र विवादको विषय बन्न थालेपछि लगानीकर्ताको जोखिम मूल्यांकनमा समेत त्यसको प्रभाव पर्न सक्ने देखिन्छ ।
