वैकल्पिक मार्गबाट निगमले ३ दिनमा ल्यायो ८७ हजार ८७७ सिलिन्डर ग्यास

विज्ञापन
ncell

काठमाडौँ । नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ३ दिनमा ८७ हजार ८७७ सिलिन्डर काठमाडौं ल्याएको छ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएपछि विभिन्न जिल्लाबाट ग्यास सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था गरिएको छ । निगमको केन्द्रीय कार्यालय, बबरमहलले जारी गरेको सूचना अनुसार काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगहरूका ग्यास सिलिण्डरहरूलाई तराईका विभिन्न जिल्लाका उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।

हाललाई बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरूबाट ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री वितरण भइरहेको निगमले जनाएको छ ।

निगमको विवरणअनुसार भदौ १८ गते करिब २४ हजार ४२४ सिलिन्डर काठमाडौं ल्याइएको छ। भदौ १९ गते करिब ३४ हजार १३४ र भदौ २० गते करिब २९ हजार २४९ सिलिन्डर ल्याइएको छ । निगमले सम्बन्धित ग्यास उद्योगलाई तोकिएका मितिमा सिलिन्डर रिफिल गरी काठमाडौं पठाउन अनुरोध गरेको छ ।