बाढीको दबाब र कमजोर मनोबलले अन्योलमा लगानीकर्ता, भरोसा जगाउने सरकारी नीतिको खोजी

विज्ञापन
ncell

पछिल्लो तीन कारोबार दिन बढेको बजार कति दिगो?

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सुस्ताएको सेयर बजार पछिल्ला तीन कारोबार दिनदेखि क्रमशः उकालो लागिरहेको छ । बाढीपछि निरन्तर दबाबमा परेको बजारमा तीन दिनको सुधार देखिए पनि कारोबार रकममा अपेक्षित वृद्धि हुन सकेको छैन । यसले बजारमा लगानीकर्ताको उत्साह अझै कमजोर रहेको संकेत गरेको छ ।

बाढीपछि विशेषगरी जलविद्युत कम्पनीको सेयरमा बिक्री चाप बढेको थियो । बाढी प्रभावित क्षेत्रका रसुवागढी हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनीलगायतका हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो । बाढीका कारण जलविद्युत आयोजनामा क्षति पुगेपछि लगानीकर्ताले प्रभावित कम्पनीको वित्तीय अवस्थाबारे चासो राख्दै बिक्री बढाएका थिए ।

यता बाढीपछि पुनर्निर्माण तथा पुनःस्थापनाको काम बढ्ने अपेक्षामा पेन्ट्स तथा सिमेन्ट कम्पनीको सेयरमा भने आकर्षण देखिएको थियो । बाढी तथा प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि निर्माण सामग्रीको माग बढ्ने अपेक्षाले यी क्षेत्रमा लगानीकर्ताको चासो बढेको हो ।

बाढीबाट भएको क्षतिको असर बीमा क्षेत्रमा पनि देखिने भएको छ । नेपाल बीमा प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीका कारण प्रभावित कुल बिमितको संख्या ५८३ रहेको छ । ती बिमितबाट करिब २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीका कारण केही सूचीकृत कम्पनीको व्यवसायमा प्रत्यक्ष प्रभाव परे पनि त्यसलाई मात्र आधार बनाएर सेयर बजारमा दीर्घकालीन असर पर्ने निष्कर्षमा पुग्न नहुने बजारका जानकारहरूको भनाइ छ । प्रभावित कम्पनीले बीमा दाबीमार्फत क्षतिको ठूलो हिस्सा पुनःप्राप्त गर्न सक्ने भएकाले बाढीको प्रभावलाई कम्पनीअनुसार फरक–फरक ढंगले मूल्यांकन गर्नुपर्ने देखिन्छ ।

सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा आएको कमीले बजारमा लगानीकर्ताको सक्रियता अझै बढ्न नसकेको देखाउँछ । बजार बढ्दा समेत कारोबार रकमले साथ नदिँदा पछिल्लो वृद्धिलाई बलियो सुधारको संकेतका रूपमा लिन कठिन हुने बजार विश्लेषकहरू बताउँछन् ।

बाढीपछि बजारमा थप मनोवैज्ञानिक दबाब सिर्जना भए पनि अहिलेको अवस्थामा प्राकृतिक विपत्तिभन्दा लगानीकर्ताको कमजोर आत्मविश्वास नै बजारका लागि ठूलो चुनौती बनेको विश्लेषण गरिएको छ ।

सेयर बजारका जानकार दीपक कार्कीका अनुसार पछिल्ला तीन कारोबार दिनको वृद्धिलाई मात्रै आधार बनाएर बजार अब निरन्तर उकालो लाग्ने निष्कर्षमा पुग्न सकिँदैन । लामो समयदेखि घटिरहेको बजारमा केही दिनको सुधार स्वाभाविक भए पनि त्यसलाई दिगो सुधारका रूपमा प्रमाणित गर्न थप आधार आवश्यक पर्ने उनको भनाइ छ । ‘तीन दिन बजार बढ्दैमा यसैलाई आधार बनाएर बजार माथि जाने निष्कर्षमा पुग्न सकिँदैन,’ कार्कीले भने ।

उनका अनुसार पछिल्लो समय बजार लगातार घटिरहेको अवस्थामा भदौ १० गतेको बाढीले थप दबाब सिर्जना गरेको हो । तर बाढीका कारण प्रभावित भएका कम्पनीको क्षतिलाई बीमा लगायतका माध्यमबाट केही हदसम्म व्यवस्थापन गर्न सकिने भएकाले विपत्तिलाई मात्र बजारको गिरावटको कारण मान्न नहुने उनको तर्क छ ।

कार्कीका अनुसार अहिले सेयर बजारमा देखिएको मुख्य समस्या सरकार र अर्थतन्त्रप्रति लगानीकर्ताको कमजोर हुँदै गएको विश्वास हो । सरकार गठन हुँदा ठूलो बहुमतसहित आएको सरकारबाट अर्थतन्त्रमा सुधार आउने र त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा पर्ने अपेक्षा लगानीकर्ताले गरेका थिए ।

तर लगानीकर्ताको अपेक्षाअनुसार सरकारका नीति तथा कार्यक्रमले निरन्तरता पाउन नसक्दा बजारप्रतिको विश्वास कमजोर भएको उनको विश्लेषण छ ।

‘सरकारप्रति नै अर्थतन्त्रले विश्वास गर्न नसकेको हो कि भन्ने अवस्था देखिएको छ,’ उनले भने, ‘यो अविश्वासको वातावरणलाई राज्य वा सरकारले बुझेर लगानीकर्ताको आत्मविश्वास बढाउने खालका विषय र उपकरण ल्याउन आवश्यक छ ।’

लगानीकर्ताहरू अहिले पनि बजारको दिशा र सरकारका आगामी कदमलाई ‘पर्ख र हेर’को अवस्थामा मूल्यांकन गरिरहेको उनको भनाइ छ । यस्तो अवस्थामा बजारलाई दिगो रूपमा माथि लैजान सरकारले लगानीकर्तालाई आश्वस्त पार्ने स्पष्ट नीति र कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण ब्यारोमिटरका रूपमा लिइने भए पनि यस क्षेत्रमा लगानीकर्ताको विश्वास कमजोर बनाउँदै अर्थतन्त्रलाई गति दिन नसकिने कार्की बताउँछन् ।

उनका अनुसार पुँजी बजारमा लगानीको वातावरण निर्माण गर्नु सरकारको प्राथमिकतामा पर्नुपर्छ । लगानीकर्तालाई निरन्तर अनिश्चितता र त्रासको अवस्थामा राखेर अर्थतन्त्रको विकासको अपेक्षा गर्नु सरकारको कमजोरी भएको उनको टिप्पणी छ ।

‘पुँजी बजारजस्तो अर्थतन्त्रको ब्यारोमिटर मानिने क्षेत्रलाई लगानीकर्तालाई त्रसित मानसिकतामा राखेर विकास हुन्छ भनेर परिकल्पना गर्नु सरकारको कमजोरी हो,’ उनले भने ।

सरकारले लगानीकर्ताको आत्मविश्वास बढाउने खालका ठोस नीति तथा उपकरण ल्याउन नसकेको भन्दै उनले बजारमा रहेका विभिन्न लागत र करसम्बन्धी व्यवस्थाले समेत लगानीकर्तालाई थप दबाबमा पारेको बताए ।

विशेषगरी कमिसन र पुँजीगत लाभकरका कारण आम लगानीकर्ताको बजारबाट हुने आम्दानीको ठूलो हिस्सा बाहिरिने अवस्था रहेको उनको भनाइ छ । बजारमा लगानी गरेर प्रतिफल प्राप्त गर्नुअघि नै विभिन्न शीर्षकमा लागत व्यहोर्नुपर्ने अवस्थाले लगानीकर्ताको मनोबलमा असर पार्ने उनले बताए ।

नेपालको सेयर बजारमा पछिल्लो समय देखिएको अर्को समस्या बजार घट्दा तीव्र गतिमा घट्ने र बढ्दा निकै सुस्त गतिमा बढ्ने प्रवृत्ति रहेको कार्की बताउँछन् ।

उनका अनुसार बजारमा सामान्य सुधार हुँदा लगानीकर्ताले ठूलो प्रतिफल पाउन नसक्ने तर बजार घट्दा भने छोटो अवधिमै ठूलो रकम गुमाउने अवस्था छ । यही कारण लगानीकर्तामा बजारप्रतिको विश्वास कमजोर हुँदै गएको उनको भनाइ छ ।

‘घट्दा एकै दिनमा ५०–६० रुपैयाँसम्म जाने तर बढ्दा एक–दुई रुपैयाँ मात्रै बढ्ने अवस्था छ,’ उनले भने, ‘दुई दिन घटेको बजारको रिकभरी हुन पनि छ महिना वा वर्ष दिन लाग्ने अवस्था आएपछि लगानीकर्ताको विश्वास कसरी कायम रहन्छ?’ बजारमा यस्तो असन्तुलित प्रवृत्ति कायम रहँदा लगानीकर्ताले जोखिम लिन डराउने र नयाँ लगानी भित्रिनसमेत कठिन हुने उनको विश्लेषण छ ।

पछिल्ला तीन कारोबार दिनमा बजार बढे पनि यसलाई बजारको पुनरुत्थानको निश्चित संकेतका रूपमा लिन नहुने कार्कीको भनाइ छ । बजारमा दिगो सुधारका लागि सूचक बढ्नु मात्रै पर्याप्त नहुने भन्दै उनले कारोबार रकममा वृद्धि, लगानीकर्ताको सहभागिता र बजारप्रतिको विश्वास पुनःस्थापित हुनु आवश्यक रहेको बताए ।

प्राकृतिक विपत्तिबाट प्रभावित कम्पनीलाई आवश्यक राहत तथा पुनःस्थापनाको वातावरण बनाउनेसँगै समग्र पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउने नीति आवश्यक रहेको उनको सुझाव छ ।

सरकारले स्पष्ट नीति, स्थिर वातावरण र लगानीमैत्री कदम चाल्न सके बजारमा पुनः विश्वासको वातावरण बन्न सक्ने उनको भनाइ छ । अन्यथा केही कारोबार दिनको सामान्य वृद्धिले मात्र लामो समयदेखि कमजोर रहेको बजारको प्रवृत्ति परिवर्तन गर्न नसक्ने उनको निष्कर्ष छ ।

यसरी हेर्दा पछिल्ला तीन कारोबार दिनमा नेप्से बढेको भए पनि कारोबार रकममा आएको कमी, बाढीपछि प्रभावित कम्पनीप्रतिको चासो र लगानीकर्ताको कमजोर मनोबलका कारण बजार अझै निर्णायक सुधारको चरणमा प्रवेश गरिसकेको देखिँदैन । बजारले आगामी दिनमा लिने दिशा भने सरकारका नीति, लगानीकर्ताको विश्वास र बजारमा आउने वास्तविक खरिद चापले निर्धारण गर्ने देखिन्छ ।

गत साता चार कारोबार दिन सेयर बजार खुलेकोमा तीन कारोबार दिन बजार बढेको छ भने एक कारोबार दिन घटेको छ । भदौ १५ गते नेप्से परिसूचक ४३।८९ अंकले घटेको थियो । त्यसपछि लगातार तीन कारोबार दिनमा भने नेप्से कुल २९.३४ अंकले बढेको छ ।

तर पछिल्ला दिनमा नेप्सेमा देखिएको वृद्धिले बजारमा बलियो खरिद चाप सिर्जना भएको देखाउँदैन । सूचक केही अंकले बढे पनि कारोबार रकम भने तुलनात्मक रूपमा न्यून रहेको छ ।

भदौ १५ गते ३ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसको भोलिपल्ट भदौ १६ गते कारोबार रकम घटेर २ अर्ब ८८ करोड रुपैयाँमा सीमित भयो । भदौ १७ गते २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएकोमा भदौ १८ गते साताको अन्तिम कारोबार दिन ३ अर्ब ३९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

समग्रमा गत साताको तुलनामा यस साता बजारमा कारोबार रकमसमेत घटेको छ । गत साता दैनिक औसत ३ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस साता दैनिक औसत कारोबार रकम ३ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । गत साताको तुलनामा यस साता दैनिक औसत कारोबार रकम १८.५२ प्रतिशतले घटेको हो ।