नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान, के हुनुपर्छ योग्यता?
आवेदनसँगै सञ्चालनका लागि बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना (बिजनेस एक्सन प्लान) पनि सिलबन्दी बुझाउनुपर्छ ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा सो पदको पूर्ति गर्नका लागि गठित सिफारिस समितिमार्फत यो सूचना जारी गरेको हो ।
महाप्रबन्धक पदका लागि दरखास्त दिनेले रसायनशास्त्र, फार्मेसी, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेर कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा पाँच वर्षको कार्यअनुभव हासिल गरेको हुनुपर्छ ।
उमेरका हकमा दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ । आवेदनसँगै सञ्चालनका लागि बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना (बिजनेस एक्सन प्लान) पनि सिलबन्दी बुझाउनुपर्छ ।
दरखास्त स्वीकृत भई छनोट सूची ९सर्टलिस्ट० मा परेका उम्मेदवारहरूलाई मात्र व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाइने सूचनामा छ। सूचना अनुसार, तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मिति (भदौ २३ गते) बाट २१ दिनभित्र सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त दिन सक्नेछन् ।
