भोटेकोशी बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग
उक्त रकम केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेकी थिइन् ।
काठमाडौं । भोटेकोशी बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । केन्द्रले प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको हो । उक्त रकम केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेकी थिइन् ।
यसैबीच, ब्रह्माकुमारी नेपालले भदौ २० गते शनिबार भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग-तपस्या, मौनधारण तथा दीप प्रज्वलन गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनको शान्ति र धैर्यका लागि प्रार्थनासमेत गरिएको थियो ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोटको त्रिशूली र देवीघाट तथा धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
