खराब मौसमले आन्तरिक उडान प्रभावित, लुक्लाका ८ उडान रद्द

यता, प्रतिकूल मौसमको प्रभाव आन्तरिक उडानमा परे पनि अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं । लगातारको वर्षा र कम भिजिबिलिटीका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक हवाई सेवा प्रभावित भएको छ । शुक्रबार बिहानदेखि विभिन्न गन्तव्यका उडान ढिला हुनुका साथै केही उडान रद्द भएका छन् ।

विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार शुक्रबार काठमाडौं बाहिरिने १२४ वटा आन्तरिक उडान तालिकामा छन् । तर, प्रतिकूल मौसमका कारण लुक्ला, पोखरा, भरतपुर, तुम्लिङटार र सिमरालगायतका विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ ।

लुक्लाका लागि समिट र सीता एयरका गरी ८ वटा उडान रद्द भइसकेका छन् । पोखरातर्फका ६ वटा उडान भने मौसमका कारण ढिला भएका छन् । त्यस्तै तुम्लिङटार, भोजपुर र सुर्खेततर्फका उडान पनि प्रभावित भएका छन् ।

उडान प्रभावित भएपछि यात्रुहरू विमानस्थलमै लामो समय प्रतीक्षामा बस्नुपरेको छ । विशेषगरी उडान सञ्चालन हुन नसकेका गन्तव्यका यात्रुको संख्या बढ्दै जाँदा आन्तरिक टर्मिनलमा चापसमेत बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

मौसममा सुधार आएपछि ढिलाइ भएका उडान सञ्चालन गर्ने सम्बन्धित वायुसेवा कम्पनीहरूले यात्रुलाई जानकारी गराइरहेका छन् । यता, प्रतिकूल मौसमको प्रभाव आन्तरिक उडानमा परे पनि अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।