यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौं
त्यस्तै, सडकमा गुडेका मापदण्ड विपरीतका ओभरलोड गाडीहरू, ढालाभन्दा माथि सामान लोड गरिएका सवारीसाधन र भारतीय नम्बर प्लेटका सवारीको नियमन नहुनुप्रति पनि उनले आपत्ति जनाए ।
काठमाडौं । यातायात व्यवस्था कार्यालय र विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडक सुरक्षा र सेवा सुधारका लागि कडा कदम चाल्न आग्रह गरेका छन् ।
सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यातायात क्षेत्रमा देखिएका भ्रष्टाचार, अव्यवस्थित बसपार्क र मापदण्ड विपरितका ओभरलोड गाडीहरूका कारण सर्वसाधारण जोखिममा परेको बताएका हुन् । सांसद पाण्डेले लामो दूरीका गाडीहरूका लागि रोड परमिट दिने प्रक्रियामा प्रश्न उठाए । उनले कोटेश्वर लगायतका स्थानबाट चल्ने गाडीहरूमा किन पटक-पटक अनियमितता हुने गरेको भन्दै विभागका अधिकारीहरूसँग स्पष्ट जवाफ माग गरे ।
उनले यातायात व्यवस्थापनमा देखिएको समस्यालाई ‘गम्भीर भ्रष्टाचार’को संज्ञा दिँदै यसलाई तत्काल सुधार गर्न आग्रह गरे । ‘एक बसपार्क नीति’ कार्यान्वयन नहुनुलाई उनले सरकारी निकायको चरम लापरवाहीको रूपमा चित्रण गरे ।
काठमाडौंका विभिन्न गल्ली र रिङरोडका जथाभावी स्थानबाट यात्रु चढाउने र टिकट काट्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको उनको भनाइ छ । विगतमा ट्राफिक प्रहरीले सकारात्मक पहल गरे पनि अन्य निकायको असहयोगका कारण सो नीति ओझेलमा परेको स्मरण गर्दै उनले चाडपर्वको अवसरमा मात्र नभई सधैँभरि नियमन गर्न आग्रह गरे ।
त्यस्तै, सडकमा गुडेका मापदण्ड विपरीतका ओभरलोड गाडीहरू, ढालाभन्दा माथि सामान लोड गरिएका सवारीसाधन र भारतीय नम्बर प्लेटका सवारीको नियमन नहुनुप्रति पनि उनले आपत्ति जनाए ।