बिराट एग्रीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

इटहरी–१३, सुनसरीमा कार्यालय रहेको बिराट एग्रीले आईपीओ निष्काशनसम्बन्धी आवश्यक संस्थागत परामर्श तथा सेवा एनआईसी एशिया क्यापिटलमार्फत लिने जनाएको छ ।

काठमाडौं । बिराट एग्रीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । आईपीओ निष्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

इटहरी–१३, सुनसरीमा कार्यालय रहेको बिराट एग्रीले आईपीओ निष्काशनसम्बन्धी आवश्यक संस्थागत परामर्श तथा सेवा एनआईसी एशिया क्यापिटलमार्फत लिने जनाएको छ ।

कम्पनीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ । साथै, इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्ट सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

प्रस्तावित आईपीओबाट प्राप्त पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि र व्यावसायिक पूर्वाधार विकासमा लगानी गर्ने कम्पनीको योजना छ । कम्पनीले पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्नुका साथै माछा तथा पशुपंक्षीका लागि दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्ने कम्पनीको दीर्घकालीन योजना रहेको छ ।