राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अङ्ग नबनोस्’-सांसद दुलाल
दुलालले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापनाको उद्देश्य र यसको व्यावहारिक सञ्चालन ढाँचाबारे संशय व्यक्त गरे ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नेपालका सबै विश्वविद्यालयहरूलाई समेट्ने गरी ‘छाता ऐन’ ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्तावउपरको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता र यसको कार्यक्षेत्रलाई लिएर प्रश्न उठाए ।
उनले विश्वविद्यालयहरूलाई छुट्टाछुट्टै विधेयकबाट सञ्चालन गर्ने परिपाटीले प्राज्ञिक क्षेत्रमा अन्योल सिर्जना गरेको बताए । दुलालले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापनाको उद्देश्य र यसको व्यावहारिक सञ्चालन ढाँचाबारे संशय व्यक्त गरे । उनले विश्वविद्यालयले प्राज्ञिक स्वतन्त्रता गुमाए यो केवल एउटा साधारण महाविद्यालयमा सिमित हुने र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा खरो उत्रन नसक्ने जिकिर गरे ।
दुलालले विश्वविद्यालयको नाममा ‘साँघुरो घेरा’ भित्र बसेर अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा हुन नसक्ने भन्दै विधेयकलाई परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए ।