नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्छः सभापति रेग्मी
पुँजीबजारका ब्रोकर, मर्चेन्ट बैंकरलगायत व्यवसायीहरूको स्तरीकरण तथा मानकीकरण गर्नुपर्नेमा जोड दिँदै रेग्मीले सुधार प्रक्रियामा उनीहरूको पनि सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजारमा देखिएका समस्या समाधान तथा नीतिगत सुधारको प्रभावकारी कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन् । बुधबार अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धि छलफलमा उनले नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु पुँजी बजार सुधारको पूर्वशर्तजस्तै रहेको बताएका हुन् ।
उनले रणनीतिक साझेदार बिना सरकारले घोषणा गरेका कार्यक्रम तथा नेपाल धितोपत्र बोर्डले अघि सारेका नीतिगत सुधार कार्यान्वयन गर्न कठिन हुने बताए । पुँजीबजारका ब्रोकर, मर्चेन्ट बैंकरलगायत व्यवसायीहरूको स्तरीकरण तथा मानकीकरण गर्नुपर्नेमा जोड दिँदै रेग्मीले सुधार प्रक्रियामा उनीहरूको पनि सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनका अनुसार सामाजिक सञ्जालमार्फत हुने अनियन्त्रित सूचना प्रवाह र निःशुल्क परामर्शका नाममा फैलाइने भ्रमले पुँजी बजारलाई प्रभावित गरिरहेको छ । त्यसैले सामाजिक सञ्जालबाट हुने गलत सूचना प्रवाहलाई नियमन गर्न आवश्यक छ ।
रेग्मीले बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासन प्रक्रियालाई प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको संख्या र भूमिका बढाउनुपर्ने बताए । संस्थागत लगानीकर्तालाई बजारको चालक बनाउँदै व्यक्तिगत लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।
संस्थागत लगानीकर्ताको सहभागिता बढाउन करसम्बन्धी व्यवस्था पनि सुधार गर्नुपर्ने उनले बताए । उनकाअनुसार व्यक्तिगत र संस्थागत लगानीकर्ताले तिर्नुपर्ने करको दरमा रहेको भिन्नताले संस्थागत लगानीलाई निरुत्साहित गरेको छ । संस्थागत लगानीकर्तामाथिको करको भार घटाउनु पर्छ । व्यक्तिगत रूपमा कारोबार गर्दा पाँच प्रतिशत कर तिर्नुपर्ने अवस्थामा संस्थागत रूपमा लगानी गर्दा ३० प्रतिशत कर तिर्नुपर्ने भएपछि संस्थागत लगानीकर्ता निरुत्साहित हुने उनको भनाइ छ । संस्थागत लगानीकर्ताको सहभागिता कमजोर हुँदा बजार व्यक्तिगत लगानीकर्ताले मात्रै सञ्चालन गर्ने अवस्था रहने र त्यसले बजारमा अस्थिरता कायम रहन सक्ने उनले बताए ।
उनले नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना प्रणालीमा पनि सुधार गर्नुपर्ने रेग्मीले बताउँदै बजारको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्न सूचक गणना गर्दा कारोबारका लागि उपलब्ध फ्लोट सेयरलाई आधार बनाउनुपर्नेमा जोड दिए ।
रेग्मीकाअनुसार पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेप्सेको संरचनागत सुधार, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, व्यवसायीहरूको मानकीकरण र बजारसम्बन्धी सूचना प्रवाहको नियमनलाई प्राथमिकता दिन आवश्यक छ ।