दशैंमा उत्सवका रूपमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको निर्णय

रसुवा बाढी तथा पछिल्लो समय भएको भारी वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा क्षति पुगेको र नागरिकहरू प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै दशैंमा नोट सटहीलाई उत्सवका रूपमा अघि नबढाइएको राष्ट्र बैंकको भनाइ छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैंका लागि विगतमा जस्तो औपचारिक रूपमा नयाँ तथा सुकिला नोट सटही गर्ने कार्यक्रम नराख्ने भएको छ । यद्यपि, आवश्यकता भएका सर्वसाधारणलाई नियमित प्रक्रियामार्फत नयाँ तथा सुकिला नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

रसुवा बाढी तथा पछिल्लो समय भएको भारी वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा क्षति पुगेको र नागरिकहरू प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै दशैंमा नोट सटहीलाई उत्सवका रूपमा अघि नबढाइएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नोट साट्न सक्नेछन्। राष्ट्र बैंकका नियमित काउन्टरमा आउने सेवाग्राहीलाई सकेसम्म नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

ठूलो परिमाणमा नोट आवश्यक पर्ने व्यापारी तथा व्यावसायिक प्रयोजनका लागि भने सुकिला नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था र फाइनान्स कम्पनीहरूलाई आवश्यक नोट पठाइसकिएको र ती संस्थाले आफ्ना ग्राहकलाई वितरण गरिरहेको दहालले जानकारी दिए ।

दशैंका लागि साना दरका नोटको माग भने सोह्र श्राद्ध सकिएपछि बढ्ने अपेक्षा गरिएको छ। राष्ट्र बैंकका अनुसार विगतको प्रवृत्तिका आधारमा यस वर्ष करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरका साना दरका नोट बजारमा जाने अनुमान छ ।

दशैंमा मुख्य रूपमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट बढी सटही हुने गर्छन् । यस वर्ष कति रकम बराबरका नोट सटही भए भन्ने यकिन विवरण भने आगामी साताबाट प्राप्त हुने राष्ट्र बैंकले जनाएको छ ।