दूरसञ्चार सेवा कमजोर भएको गुनासोपछि सञ्चारमन्त्रीद्वारा प्राधिकरणसँग जवाफ माग

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर कमजोर भएको गुनासो बढ्दै गएपछि नेपाल दूरसञ्चार प्राधिकरणसँग सेवाको अवस्थाबारे जानकारी माग गरेका छन् । टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको उपभोक्ताको गुनासो अझै नघटेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले प्राधिकरणका पदाधिकारीसँग सेवा गुणस्तर, परीक्षण, अनुगमन, नियमन तथा सेवा विस्तारका विषयमा जानकारी लिएका हुन् । उनले दूरसञ्चार सेवाको गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।

सञ्चारसचिव राजेन्द्रकुमार पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलगायत मन्त्रालय तथा प्राधिकरणका पदाधिकारीसँगको छलफलमा मन्त्री तिमिल्सिनाले काठमाडौँ उपत्यकाजस्तो क्षेत्रमा समेत टेलिफोन र इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको बताए ।

नागरिकले अपेक्षा गरेअनुसार भरपर्दो, गुणस्तरीय र सहज दूरसञ्चार सेवा उपलब्ध गराउने जिम्मेवारी नियामक निकाय र सेवा प्रदायक दुवैको रहेको उनले बताए । दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भएको गुनासो हट्न नसकेको भन्दै उनले नागरिकका अपेक्षा पूरा गर्न सेवा सुधारमा तत्काल काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री तिमिल्सिनाले दूरसञ्चार प्राधिकरणको नियामकीय क्षमता अभिवृद्धिका लागि मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै सेवा गुणस्तरका विषयमा प्रभावकारी नियमन गर्न निर्देशन दिए ।

उनले न्यून गुणस्तरको सेवा दिने तथा तोकिएको मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कडा कारबाही गर्न पनि निर्देशन दिए । गुणस्तर परीक्षणका लागि आवश्यक संयन्त्र तथा उपकरणको पर्याप्त व्यवस्था गरी नियमित अनुगमन गर्न र त्यसको प्रतिवेदन मन्त्रालयमा बुझाउन उनले प्राधिकरणलाई भने ।

समस्या आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा नियामक निकाय आफैँ सक्रिय भएर सेवाको अवस्था पहिचान गरी सुधारका लागि तत्काल कदम चाल्नुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो ।

बैठकमा उनले ‘फोरजी’ सेवा विस्तार तथा ‘फाइभजी’ सेवा सुरु गर्ने विषयमा पनि स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न प्राधिकरणलाई निर्देशन दिए । फोरजीको पहुँच विस्तार, विद्यमान सेवाको गुणस्तर सुधार तथा फाइभजी कार्यान्वयनका लागि आवश्यक तयारी र नियामकीय प्रक्रियालाई कार्ययोजनासहित अघि बढाउनुपर्ने उनले बताए । बैठकमा प्राधिकरणका पदाधिकारीले दूरसञ्चार सेवाको गुणस्तर परीक्षण तथा अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीबारे मन्त्री तिमिल्सिनालाई जानकारी गराए।

प्राधिकरणका अनुसार गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन तथा ‘ड्राइभ टेस्ट’ उपकरण पर्याप्त छैनन् । गुणस्तर परीक्षणका लागि आवश्यक क्षमता र उपकरणको अभाव तथा यसअघि उपकरण खरिद प्रक्रियामा कानुनी विवाद उत्पन्न भएका कारण अनुगमनमा समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दूरसञ्चार सेवा गुणस्तरसम्बन्धी मापदण्ड जारी गरिसकेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्वीकार गरेको छ । विद्यमान व्यवस्थाअनुसार सेवा प्रदायकले आफैँ ‘ड्राइभ टेस्ट’ गरी प्रत्येक तीन महिनामा प्राधिकरणलाई गुणस्तरसम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।

सेवा गुणस्तर न्यून भएको पाइएमा सम्बन्धित सेवा प्रदायकलाई सचेत गराउने गरिएको प्राधिकरणले जनाएको छ। गुणस्तर सुधारका लागि सेवा प्रदायकले पूर्वाधारमा थप लगानी गर्नुपर्ने भए पनि पर्याप्त लगानी हुन नसकेको उसको भनाइ छ ।

त्यस्तै, दूरसञ्चार सेवाका लागि आवश्यक ‘फ्रिक्वेन्सी’ पर्याप्त रूपमा उपलब्ध गराउन सके सेवा गुणस्तर सुधारमा सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । सेवाको माग बढ्दै गए पनि पूर्वाधार र नेटवर्क क्षमतामा सोहीअनुसार लगानी हुन नसक्दा केही क्षेत्रमा गुणस्तरको समस्या देखिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तरका विषयमा देशभर नियमित अनुगमन तथा निरीक्षण भइरहेको बताए । न्यूनतम गुणस्तर मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार आवश्यक कारबाही गरिने उनले बताए ।

टेलिफोन सेवाको गुणस्तर कमजोर भएको विषयमा सेवा प्रदायकलाई यसअघि सचेत गराउँदै आएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले अब कानुनअनुसार कारबाही तथा जरिवाना गरिने बताए । उनले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।