नेप्से २५९९ विन्दुमा, कारोबार रकम भने ४ अर्ब ८९ करोड माथि

बिहिबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज नेप्से ०.२६ अंकले बढेर २५९९.१५ को विन्दुमा कायम भएको छ ।

काठमाडौं । आज सेयर बजार सामान्य बढेर बन्द भएको छ । बिहिबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज नेप्से ०.२६ अंकले बढेर २५९९.१५ को विन्दुमा कायम भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ ।  

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ४ अर्ब ७६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आज सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । कारोबारमा आएको सयपत्री हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक ९.६६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३० करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकले भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछ । लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकोले लगानीकर्ताहरु यसतर्फ आकर्षिक भएका हुन् । त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

१३ उपसमूहमध्ये आज चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। 

बिहिबार कारोबारमा आएका मध्य १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।