एडीबीको पहिलो विद्युत प्रसारण र ब्याट्री भण्डारण पीपीपी परामर्श सम्झौता नेपालमा

सम्झौतामा एडीबीका नेपाल आवासीय निर्देशक आर्नो कौस्वा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

काठमाडौं । नेपालमा विद्युत प्रसारण तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) को क्षमता विस्तार गर्न एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच दुईवटा महत्वपूर्ण सम्झौता भएको छ ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्ने उद्देश्यले एडीबीले पहिलोपटक ‘ट्रान्ज्याक्सन एड्भाइजरी सर्भिसेस’ (टीएएस) अन्तर्गत यी सम्झौता गरेको हो । सम्झौतामा एडीबीका नेपाल आवासीय निर्देशक आर्नो कौस्वा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअन्तर्गत अघि बढाइने आयोजनाबाट निजी क्षेत्रमार्फत करिब २० करोड अमेरिकी डलर अर्थात् ३० अर्ब रुपैयाँभन्दा बढी लगानी परिचालन हुने अपेक्षा गरिएको छ ।

पहिलो आयोजनामा करिब १३४ किलोमिटर लामो तिङ्ला–नयाँ खिम्ती–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण तथा सञ्चालनको योजना छ । यसले राष्ट्रिय प्रसारण प्रणालीको विश्वसनीयता बढाउनुका साथै नवीकरणीय ऊर्जा प्रणालीमा समाहित गर्न र क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, दोस्रो आयोजनाअन्तर्गत विभिन्न सबस्टेसनमा कुल १०० देखि १५० मेगावाट–आवर क्षमताको युटिलिटी–स्केल ब्याट्री ऊर्जा भण्डारण प्रणाली स्थापना गरिनेछ । यसले विद्युतको उच्च माग हुने समयमा ग्रीडमा देखिने दबाब व्यवस्थापन गर्न तथा नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोगमा सहयोग गर्नेछ ।

सम्झौताअनुसार एडीबीले सम्भाव्यता अध्ययनदेखि परियोजना सम्झौता तयारी, खरिद प्रक्रिया, टेन्डर तथा संस्थागत क्षमता अभिवृद्धिसम्म प्राविधिक र परामर्श सहयोग उपलब्ध गराउनेछ ।

एडीबीका नेपाल आवासीय निर्देशक कौस्वाले नेपालमा विद्युत पहुँच उल्लेख्य रूपमा विस्तार भएको बताउँदै अब भरपर्दो आन्तरिक आपूर्ति र दिगो विद्युत निर्यातका लागि प्रसारण तथा भण्डारण पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले सम्झौताले रणनीतिक महत्वका प्रसारण तथा भण्डारण आयोजना अघि बढाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न सहयोग पुग्ने बताए ।