संविधान र लोकतन्त्रको रक्षाका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधान र लोकतन्त्र नै अप्ठ्यारोमा परेको बताएका छन् । काठमाडौंको खुलामञ्चमा आईतबार आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सत्ताको स्वेच्छाचारिता र अराजकताले लोकतान्त्रिक प्रणालीलाई जोखिममा पारेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री दाहालले समावेशी लोकतन्त्रसहितको सङ्घीय गणतन्त्र शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै त्यसको रक्षाका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए । शान्ति सम्झौताका केही पक्षहरू अझै टुङ्गिन बाँकी रहेको भन्दै उनले त्यसलाई पूर्णता नदिए देश पुनः अस्थिरतातर्फ धकेलिन सक्ने खतरा औँल्याए ।
उनले विशेष गरी नेपाली काँग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने जिम्मेवारी वोध गराए । वर्तमान राजनीतिक दलहरूको खुम्चँदो अवस्थाबारे चर्चा गर्दै दाहालले दलका नेताहरूप्रति आफ्नो भरोसा रहेको बताए ।
उनले रास्वपा सभापति रवि लामिछाने र काँग्रेस नेताहरूप्रति सम्मान व्यक्त गर्दै आउँदा दिनमा समझदारीका साथ समृद्ध नेपाल निर्माणमा लाग्नुपर्नेमा जोड दिए । उनले दलहरूबीचको ध्रुवीकरणभन्दा पनि राष्ट्रिय मुद्दामा सहमतिको खाँचो रहेको बताए ।