नेपाल एयरलाइन्सको अधोगतिको मुख्य कारण राजनीतिक हस्तक्षेपः मन्त्री पौडेल
मन्त्री पौडेलले निगमका कर्मचारीहरू आफ्नो क्षेत्रमा विज्ञ भएपनि राजनीतिक दबाब र हस्तक्षेपका कारण उनीहरूले स्वतन्त्र रूपमा काम गर्न नपाएको जिकिर गरे ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्स लगायतका
सार्वजनिक संस्थानहरूको ओरालो लाग्दो अवस्थाका लागि राजनीतिक हस्तक्षेप नै मुख्य कारक भएको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले विगतमा भर्ना प्रक्रियादेखि खरिद र मर्मतसम्ममा हुने स्वार्थ र कमिसनको खेलले निगमलाई थला पारेको आरोप लगाएका हुन् ।
मन्त्री पौडेलले निगमका कर्मचारीहरू आफ्नो क्षेत्रमा विज्ञ भएपनि राजनीतिक दबाब र हस्तक्षेपका कारण उनीहरूले स्वतन्त्र रूपमा काम गर्न नपाएको जिकिर गरे । निगमलाई पुनर्जीवन दिने उद्देश्यले आफूले हाल काम गर्ने शैलीमा परिवर्तन ल्याएको मन्त्री पौडेलको भनाइ छ ।
आफूले निगमको नेतृत्वलाई निर्णय गर्न पूर्वस्वीकृति लिन नपर्ने र कार्य सम्पन्न भएपछि जानकारी गराए पुग्ने गरी पूर्ण स्वायत्तता दिएको उनले दाबी गरे । यस प्रकारको कार्यशैलीको सकारात्मक नतिजा केही महिना अगाडि प्रधानमन्त्रीको प्रतिवेदनमा पनि देखिएको उनको जिकिर छ ।
यदि राजनीतिक स्वार्थबाट टाढा राखेर स्वतन्त्र रूपमा काम गर्ने वातावरण सिर्जना गर्ने हो भने निगमका कर्मचारीहरू सक्षम रहेको उनले दाबी गरे । राजनीतिक प्रभावमुक्त वातावरणमा नै राष्ट्रिय ध्वजाबाहकको साख जोगाउन सकिने मन्त्री पौडेलको तर्क छ छ ।