रसुवाको पुनर्निर्माणमा ‘जलवायुमैत्री’ पूर्वाधार र स्थानीयसँगको समन्वय अनिवार्यः सांसद आचार्य

नेपाली काँग्रेसका सांसद मोहन आचार्यले रसुवामा बाढीले तहसनहस पारेको भौतिक संरचनाको पुनर्निर्माण गर्दा जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै उच्च प्रविधियुक्त पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहन आचार्यले रसुवामा बाढीले तहसनहस पारेको भौतिक संरचनाको पुनर्निर्माण गर्दा जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै उच्च प्रविधियुक्त पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले भोटेकोशी र त्रिशूली नदीको बाढीले जिल्लाको सडक सञ्जाल र बस्तीमा पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराउँदै तत्काल र दीर्घकालीन राहतका उपायहरू सुझाएका हुन् ।

सांसद आचार्यले रसुवाको भित्रावदीदेखि मैलुङ्ग र टिमुरे नाकासम्मको ठूलो भूभाग बाढीले बगाउँदा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको र बेत्रावतीजस्ता ऐतिहासिक बजारहरू इतिहास बनेको बताए । वर्तमानमा रसुवाका १३ वटा वडाहरू सडक पहुँचबाट विच्छेद भएको उल्लेख गर्दै उनले बेलीब्रिज निर्माणमार्फत तत्काल आवागमन सहज बनाउनुपर्नेमा जोड दिए । उनले आगामी दिनमा निर्माण हुने सडक र पुलहरू ‘हाइ फ्लड लेभल’ भन्दा माथि र जलवायुमैत्री हुनुपर्ने खाँचो औंल्याए । रसुवा अन्तर्राष्ट्रिय नाका भएकाले छिमेकी राष्ट्रसँगको समन्वयमा सडकको रेखांकन (एलाइनमेन्ट) फिक्स गर्नुपर्ने उनको भनाइ छ । 

पुनस्र्थापनाका सन्दर्भमा सांसद आचार्यले २०७२ सालको भूकम्पपछि बनाइएका एकीकृत बस्तीको पाठ सिक्न आग्रह गरे । स्थानीय जनताको आवश्यकता र उनीहरूको चाहना बुझेर मात्र पुनर्निर्माणको डिजाइन गर्दा राज्यको लगानी सदुपयोग हुने र जनताले वास्तविक राहत पाउने उनको तर्क छ । जनतासँगको संवादविना गरिने डिजाइन खर्चिलो र कम उपयोगी हुने उनको भनाइ छ । जलवायु परिवर्तनको प्रभावलाई अबको विकास मोडेलमा अनिवार्य रूपमा जोड्नुपर्नेमा जोड दिँदै आचार्यले सरकारलाई विपद् पूर्वतयारीमा थप गम्भीर बन्न र ‘लस एण्ड ड्यामेज’ (नोक्शानी तथा क्षति) को एजेण्डालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।