दशैंअघि हवाई भाडामा राहत, बुद्धले सस्तोमा बेच्यो टिकट

श्रीले १२ हजारदेखि १८ हजार रुपैयाँसम्मका टिकट बिक्री गरिरहेको जनाएको छ । यद्यपि, दुवै कम्पनीले स्वीकृत भाडादरको सीमाभित्रै टिकट बिक्री भइरहेको स्पष्ट पारेका छन् ।

काठमाडौं । चाडपर्वको समयमा यात्रुको चाप बढेसँगै हवाई भाडादरबारे गुनासो बढिरहेका बेला बुद्ध एयरले दशैं र तिहारसम्म न्यूनतम दरमा टिकट उपलब्ध गराउने नीति अपनाएको छ । सडकमार्गमा बाढीपहिरोका कारण क्षति पुगेपछि यात्रुलाई सहज बनाउन कम्पनीले सस्तो दरमा टिकट बिक्री गरेको जनाएको छ ।

बुद्ध एयरले काठमाडौंबाट धनगढी जाने अधिकांश टिकट १० हजार ८०० रुपैयाँमा बिक्री गरिसकेको छ । सस्तो दरका टिकट सकिएपछि अहिले यस गन्तव्यमा श्री एयरलाइन्सको भाडा तुलनात्मक रूपमा महँगो देखिएको छ । श्रीले १२ हजारदेखि १८ हजार रुपैयाँसम्मका टिकट बिक्री गरिरहेको जनाएको छ । यद्यपि, दुवै कम्पनीले स्वीकृत भाडादरको सीमाभित्रै टिकट बिक्री भइरहेको स्पष्ट पारेका छन् ।

बुद्ध एयरले सामाजिक सञ्जालमा फैलिएका बढी भाडा लिएको भन्ने सामग्री भ्रामक भएको दाबी गर्दै आधिकारिक वेबसाइट, मोबाइल एप तथा बिक्री माध्यमबाट मात्रै टिकटको मूल्य जाँच गर्न यात्रुलाई आग्रह गरेको छ । काठमाडौं आउने यात्रुका लागि भने कम्पनीले प्रोमो कोडमार्फत छुटसमेत उपलब्ध गराएको जनाएको छ ।

यसैबीच, हवाई भाडा महँगो भएको जनगुनासोपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र आन्तरिक वायुसेवा कम्पनीबीच स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति भएको छ । सहमतिअनुसार भाडादरसम्बन्धी जानकारी सम्बन्धित कम्पनीका बिक्री प्लेटफर्ममा सार्वजनिक गरिनेछ । धनगढीबाट काठमाडौं फर्किने यात्रुका लागि भने बुद्ध र श्री दुवैले करिब ८ हजार रुपैयाँमा टिकट उपलब्ध गराइरहेको जनाएका छन् ।