सशस्त्रका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
गृह मन्त्रालय स्रोतका अनुसार एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिनपछि दाहाललाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको हो ।
काठमाडौं । सूचना चुहावट तथा उच्चपदस्थ अधिकारीहरूको व्यक्तिगत गतिविधिबारे निगरानी गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिनपछि दाहाललाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको हो । सिफारिसअनुसार आवश्यक कागजात तयार भइरहेको र अन्तिम निर्णय मन्त्रिपरिषद्बाट हुने बताइएको छ ।
दाहाल गत असोज १९ गते निलम्बनमा परेका थिए । उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ हुन् । राणा पक्राउ परेपछि दाहाल हिरासतमा उनलाई भेट्न पुगेका थिए ।
प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत समयतालिका र गतिविधिसम्बन्धी सूचना चुहाएको आरोप दाहालमाथि लागेको छ । राणाको मोबाइल फोनको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।
त्यस्तै, विभिन्न मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई छुटाउन गरिएको भनिएको प्रयास तथा सरकार ढाल्ने गतिविधिमा समेत दाहालको भूमिका रहेको आशंका गरिएको स्रोतले जनाएको छ । यी आरोपबारे छानबिनपछि बर्खास्तको सिफारिस गरिएको हो ।