रिलायन्स स्पिनिङ मिल्सको साधारणसभाबाट ३० प्रतिशत लाभांश पारित

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय प्रतिवेदनसमेत पारित गरेको छ ।

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने ३० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न कम्पनीको साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश अनुमोदन गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत बराबर हुने ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांशमा प्रचलित कानुनबमोजिम लाग्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय प्रतिवेदनसमेत पारित गरेको छ ।

गोल्याण ग्रुपअन्तर्गत सञ्चालित रिलायन्स स्पिनिङ मिल्स नेपालका प्रमुख निर्यातमूलक तथा रोजगारी सिर्जना गर्ने उद्योगमध्ये एक हो। कम्पनी गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो ।

यसैबीच, साधारणसभाले कम्पनीको सञ्चालक समितिको संरचनामा परिवर्तन गर्दै कुल ६ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था अनुमोदन गरेको छ । संशोधित व्यवस्थाअनुसार संस्थापक सेयरधनी समूहबाट चार जना, सर्वसाधारण सेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन् ।

सोही व्यवस्थाअनुसार संस्थापक सेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशी कान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभाले वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णयसमेत अनुमोदन गरेको छ ।