दशैंमा घुम्न जाने सोचमा हुनुहुन्छ? बजेट र बिदाअनुसार छान्नुस् यी १० गन्तव्य
दशैं भन्नेबित्तिकै हाम्रो मनमा राम्रो लगाउने, मिठो खाने र आफन्तसँग भेटघाट गर्ने समय भन्ने आउँछ । तर पछिल्ला केही वर्षयता दशैंको बिदामा नयाँ ठाउँ घुम्न जाने चलन पनि बढ्दै गएको छ ।
लामो बिदा, वर्षा सकिएर मौसम खुल्न थालेको समय र जाडो पूर्णरूपमा सुरु नभइसकेकाले दशैं आसपासको समय नेपाल घुम्नका लागि उपयुक्त मानिन्छ । यही कारण परिवार, साथीभाइ तथा आफन्तसँग आन्तरिक पर्यटनमा निस्कनेको संख्या यो समयमा बढ्ने गरेको पाइन्छ ।
सडक तथा हवाई यातायातको पहुँच विस्तार हुँदै गएपछि काठमाडौं बाहिरका विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न पनि पहिलेभन्दा सहज भएको छ । छोटो बिदामा पोखरा वा इलामदेखि एक साताभन्दा बढी समय छुट्याएर अन्नपूर्ण बेस क्याम्प, मुस्ताङ र लाङटाङसम्म पुग्ने विकल्पसमेत छन् ।
दशैंको बिदालाई घुमफिरसँग जोड्ने योजना बनाउँदै हुनुहुन्छ भने कति दिन छुट्याउने र करिब कति बजेट चाहिन्छ भन्ने कुरा पहिल्यै तय गर्नु उपयोगी हुन्छ । त्यसका लागि दशैंमा घुम्न सकिने केही चर्चित गन्तव्य यस्ता छन् ।
पोखरा
दशैं बिदामा घुम्नलायक स्थानमा पोखरा पहिलो रोजाइमध्ये एक हो । यो परिवार, साथीभाइ तथा जोडी सबैका लागि सहज र आकर्षक गन्तव्य हो । पोखरालाई एउटा पूर्ण घुमघामको प्याकेजका रूपमा लिन सकिन्छ । फेवा तालमा डुंगा सयरदेखि सराङकोटको सूर्योदय, शान्ति स्तूप, डेभिस फल्स, गुप्तेश्वर गुफा, पुम्दीकोट तथा बेगनास तालसम्म घुम्न सकिन्छ । त्यसमाथि प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, साइकलिङ र हाइकिङजस्ता गतिविधिले पोखराको यात्रा थप रोमाञ्चक बनाउँछन् । काठमाडौं वा आसपासबाट बसमा गएर २ रात ३ दिनको पोखरा यात्रा प्रतिव्यक्ति करिब ७ हजारदेखि १२ हजार रुपैयाँमा गर्न सकिन्छ । होटलको स्तर र अतिरिक्त गतिविधि थप्दा खर्च बढ्न सक्छ ।
इलाम
दशैंको बिदामा परिवारसँग घुम्नका लागि इलाम अर्को सहज गन्तव्य हो । नागबेली सडक, चियाबारी, कन्याम, श्रीअन्तु, माइपोखरी र सन्दकपुर इलामका प्रमुख आकर्षण हुन् । चियाका बोटबीच घुम्दै प्रकृतिको आनन्द लिन सकिने भएकाले इलाममा कठिन पदयात्रा गर्नुपर्ने बाध्यता पनि छैन । काठमाडौं वा अन्य स्थानबाट सार्वजनिक यातायात प्रयोग गरेर ३ रात ४ दिनमा इलाम घुम्न सकिन्छ । सामान्य होटल, खाना र यातायातसहित प्रतिव्यक्ति करिब १० हजारदेखि १८ हजार रुपैयाँको बजेटमा यात्रा गर्न सकिन्छ ।
रुवी भ्याली
धादिङको रुवी भ्याली प्राकृतिक सौन्दर्यसँगै तामाङ संस्कृति र मौलिक मेन्दोमाया गीतका कारण पनि चर्चित छ । यहाँको स्थानीय संस्कृति, गाउँबस्ती, गणेश हिमालको दृश्य र पदयात्रा यात्राको मुख्य आकर्षण हुन् । सामान्य पर्यटकीय गन्तव्यभन्दा फरक अनुभव लिन चाहनेले रुवी भ्याली रोज्न सक्छन् । ४ देखि ६ दिनको यात्रा बनाएर रुवी भ्याली घुम्न सकिन्छ । समूहमा सार्वजनिक यातायात र स्थानीय होमस्टे प्रयोग गर्दा प्रतिव्यक्ति करिब १५ हजारदेखि २५ हजार रुपैयाँको बजेटमा यात्रा गर्न सकिन्छ ।
लाङटाङ
काठमाडौं नजिकै रहेको लाङटाङ छोटो समयमै हिमाली पदयात्राको अनुभव लिन चाहनेका लागि आकर्षक गन्तव्य हो । स्याफ्रुबेसी हुँदै लाङटाङ भ्यालीतर्फ जाने यात्रामा तामाङ बस्ती, जंगल, हिमाली भू–दृश्य र क्याङजिन क्षेत्रको अनुभव गर्न सकिन्छ । लाङटाङसँगै गोसाइँकुण्ड पनि जोडेर यात्रा गर्न सकिन्छ । लाङटाङका लागि ५ देखि ७ दिन छुट्याउँदा पर्याप्त हुन्छ । काठमाडौं–स्याफ्रुबेसी यातायात, सामान्य लज र खानासहित समूहमा जाने हो भने प्रतिव्यक्ति करिब १५ हजारदेखि २५ हजार रुपैयाँमा यात्रा गर्न सकिन्छ । गाइड तथा अन्य अतिरिक्त सुविधा थप्दा खर्च बढ्न सक्छ ।
मुस्ताङ
हिमालपारिको जिल्लाका रूपमा चिनिने मुस्ताङ प्राकृतिक भूगोल, हिमाली संस्कृति र धार्मिक पर्यटनका लागि चर्चित छ । जोमसोम, कागबेनी, मुक्तिनाथ, मार्फा, टुकुचे र लोमान्थाङ यहाँका प्रमुख गन्तव्य हुन् । छोटो समयमा मुक्तिनाथ र जोमसोम घुमेर फर्किने हो भने ४ रात ५ दिनको प्याकेज बनाउन सकिन्छ । पोखराबाट बस वा जीप प्रयोग गरी सामान्य होटलमा बस्दा प्रतिव्यक्ति करिब १५ हजारदेखि २५ हजार रुपैयाँमा मुक्तिनाथ–जोमसोम यात्रा गर्न सकिन्छ । तर लोमान्थाङसहित माथिल्लो मुस्ताङ जाने हो भने समय र खर्च दुवै बढ्छ । त्यस्तो यात्राका लागि ७ देखि १० दिन वा सोभन्दा बढी छुट्याउनुपर्ने हुन्छ ।
रारा ताल
मुगुको रारा ताल प्राकृतिक सौन्दर्यका कारण नेपालका चर्चित गन्तव्यमध्ये एक हो । समुद्री सतहबाट करिब २ हजार ९९० मिटर उचाइमा रहेको रारा ताल वरपरको शान्त वातावरण, निलो पानी र हरियालीले पर्यटकलाई आकर्षित गर्छ । रारा पुग्ने यात्रा भने पोखरा वा इलामको जस्तो छोटो छैन । सडकमार्गबाट जाने हो भने लामो यात्रा गर्नुपर्ने भएकाले कम्तीमा ५ देखि ७ दिन छुट्याउनु उपयुक्त हुन्छ । समूह बनाएर सार्वजनिक यातायात तथा जीप प्रयोग गर्दा प्रतिव्यक्ति करिब २० हजारदेखि ३० हजार रुपैयाँमा यात्रा व्यवस्थापन गर्न सकिन्छ । निजी गाडी, राम्रो होटल वा हवाई यात्रा रोज्दा खर्च थपिन सक्छ ।
पुनहिल
दशैंको करिब एक साताको बिदा उपयोग गर्न चाहनेका लागि पुनहिल पनि राम्रो विकल्प हो । पोखराबाट नयाँपुल हुँदै घोरेपानी र पुनहिलसम्म पदयात्रा गरिन्छ । समुद्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे र नीलगिरीलगायत हिमालको दृश्य हेर्न सकिन्छ । विशेषगरी बिहान सूर्योदयका बेला हिमालमा पर्ने सुनौलो किरण पुनहिलको प्रमुख आकर्षण हो । ४ रात ५ दिनदेखि ५ रात ६ दिनको यात्रा बनाउन सकिन्छ । पोखराबाट सुरु हुने सामान्य प्याकेजमा प्रतिव्यक्ति करिब १५ हजारदेखि २५ हजार रुपैयाँको बजेटमा यात्रा गर्न सकिन्छ । प्याराग्लाइडिङजस्ता अतिरिक्त गतिविधि थप्दा भने खर्च बढ्छ ।
बडिमालिका
सुदूरपश्चिमको बाजुरामा रहेको बडिमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण चर्चित गन्तव्य हो । समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको बडिमालिका मन्दिरसम्म पुग्ने यात्रा धार्मिक यात्रासँगै पदयात्राको अनुभव पनि हो । बाटोमा देखिने विशाल पाटन, हरिया डाँडा, स्थानीय बस्ती र हिमाली दृश्यले यात्रालाई आकर्षक बनाउँछन् । यहाँ पुग्न सामान्य पर्यटकीय यात्रा भन्दा बढी समय लाग्ने भएकाले ६ देखि ८ दिन छुट्याउनु उपयुक्त हुन्छ । समूहमा जाने र सार्वजनिक यातायात तथा सामान्य बासको व्यवस्था गर्ने हो भने प्रतिव्यक्ति करिब २५ हजारदेखि ४० हजार रुपैयाँको बजेट राख्न सकिन्छ ।
अन्नपूर्ण बेस क्याम्प
अन्नपूर्ण बेस क्याम्प अर्थात् एबीसी नेपालका चर्चित हिमाली पदयात्रामध्ये एक हो । पोखराबाट सुरु हुने यात्रामा घान्द्रुक, चोम्रोङ, हिमालय, माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुगिन्छ । बाटोमा गुरुङ बस्ती, हरियाली जंगल, झरना, खोलानाला र हिमाली दृश्यको अनुभव गर्न सकिन्छ । बेस क्याम्प पुगेपछि अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुलीलगायतका हिमाल नजिकबाट देख्न सकिन्छ । ७ देखि १० दिनको यात्रा बनाउँदा सहज हुन्छ । समूहमा सामान्य होटल तथा लजमा बस्दै जाने हो भने काठमाडौंसहितको यात्रामा प्रतिव्यक्ति करिब ३० हजारदेखि ४५ हजार रुपैयाँमा व्यवस्थापन गर्न सकिन्छ । गाइड, पोर्टर तथा निजी यातायात थप्दा खर्च बढ्न सक्छ ।
अपि–नाम्पा
सुदूरपश्चिमको दार्चुलामा रहेको अपि–नाम्पा संरक्षण क्षेत्र साहसिक यात्रा मन पराउनेका लागि आकर्षक गन्तव्य हो । अपि र नाम्पा हिमालका दृश्य, हिमाली भूगोल, स्थानीय बस्ती तथा जैविक विविधता यहाँका प्रमुख आकर्षण हुन् । तर अन्य गन्तव्यको तुलनामा यहाँ पुग्न लामो समय लाग्ने भएकाले छोटो दशैं बिदाका लागि भन्दा पर्याप्त समय छुट्याउनेका लागि उपयुक्त हुन्छ । १० देखि १५ दिनसम्मको यात्रा बनाउन सकिन्छ । समूहमा जाने र सामान्य व्यवस्थापन गर्ने हो भने प्रतिव्यक्ति करिब ५० हजारदेखि ८० हजार रुपैयाँभन्दा माथि खर्च हुन सक्छ ।
यसरी हेर्दा दशैंमा कम बजेटमा घुम्न चाहनेले पोखरा, इलाम र रुवी भ्याली रोज्न सक्छन् भने २०–३० हजार रुपैयाँको बजेटमा लाङटाङ, मुस्ताङ, रारा र पुनहिलजस्ता गन्तव्य समेट्न सकिन्छ । ३० हजारभन्दा बढी बजेट र लामो बिदा हुनेले अन्नपूर्ण बेस क्याम्प, बडिमालिका वा अझ दुर्गम अपि–नाम्पा क्षेत्रको यात्रा गर्न सक्छन् । तर दशैंको समयमा यातायात र होटलमा चाप बढ्ने भएकाले यात्रा अगाडि नै बुकिङ गर्दा खर्च र समय दुवै व्यवस्थापन गर्न सहज हुन्छ ।
कता जानुहुन्छ त घुन्न ?