कार्यालय समय र पोसाकमा लापरबाही गर्ने १ हजार १६७ कर्मचारीलाई कारबाही गर्न निर्देशन
सरकारी कर्मचारीलाई जिम्मेवार र अनुशासित बनाउन गरिएको अनुगमनका क्रममा ठूलो संख्यामा कर्मचारीले कार्यालयको नियम पालना नगरेको भेटिएपछि केन्द्रले सम्बन्धित निकाय तथा कार्यालयलाई उनीहरूमाथि नियमानुसार कारबाही गर्न निर्देशन दिएको छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा गरेको अनुगमनका क्रममा कार्यालय समय पालना नगर्ने र तोकिएको पोसाक नलगाउने गरी १ हजार १६७ कर्मचारी फेला पारेको छ । केन्द्रले असोज १ देखि २० गतेसम्म १०६ वटा सरकारी कार्यालयमा गरेको अनुगमनका क्रममा १ हजार १३२ कर्मचारीले कार्यालय समय पालना नगरेको र ३५ जनाले तोकिएको पोसाक नलगाएको पाइएको हो ।
सरकारी कर्मचारीलाई जिम्मेवार र अनुशासित बनाउन गरिएको अनुगमनका क्रममा ठूलो संख्यामा कर्मचारीले कार्यालयको नियम पालना नगरेको भेटिएपछि केन्द्रले सम्बन्धित निकाय तथा कार्यालयलाई उनीहरूमाथि नियमानुसार कारबाही गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज २३ गते सार्वजनिक गरेको साप्ताहिक प्रेस ब्रिफिङमार्फत केन्द्रको अनुगमन विवरण सार्वजनिक गरिएको हो ।
यसैबीच, राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्ष २०८३/८४ मा प्राविधिक परीक्षणका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले ३० जना इन्जिनियरलाई २१ दिने तालिमसमेत दिइरहेको छ । असोज २ गतेदेखि सुरु भएको तालिम प्राविधिक परीक्षणसम्बन्धी जनशक्तिको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।