व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी-व्यवसायीसँग आज छलफल गर्दै उनले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’ को अवधारणा अघि बढाइने बताए ।

 गृहमन्त्रीले नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण तथा अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई सहज बनाउन भारत गुणस्तर र नेपाल गुणस्तरबीच मान्यता तथा प्रमाणीकरणसम्बन्धी सहकार्य अघि बढाउने विषय द्विपक्षीय वार्तामा उठाउने प्रतिबद्धता गरे ।

 उनले लगानीमैत्री वातावरण तयार गर्न व्यवसायीले राजनीतिनै गर्नुपर्ने बाध्यता अबको सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “लगानीमैत्री वातावरण तयार गर्न सरकारले सबै क्षेत्रमा सुधारको प्रभावकारी पहलकदमी गर्छ, तर स्वच्छ र प्रतिष्पर्धी बजार अनुशासनविरुद्ध हुने व्यवसायीका सबै गतिविधिलाई कानूनी दायरामा ल्याइनेछ”, गृहमन्त्रीले भने ।

 छलफलमा उद्योगी, व्यवसायीले व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका समस्या, चुनौती तथा तिनको समाधानका लागि क्षेत्रीय सहकार्य र बिम्स्टेक मञ्चमार्फत अघि बढाउन सकिने पहलबारे सुझाव प्रस्तुत गरेका थिए ।