सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहाल बर्खास्त
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएका हुन् ।
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ । गृह मन्त्रालयले दाहाललाई विभागीय कारबाही गर्दै शुक्रबारदेखि लागू हुने गरी सेवाबाट हटाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएका हुन् ।
विज्ञप्तिअनुसार दाहालले आचरणसम्बन्धी व्यवस्था पटक–पटक उल्लंघन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान–प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा उनलाई बर्खास्त गरिएको हो ।
यसअघि संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले दाहाललाई असोज १९ गते पदबाट निलम्बन गरेको थियो । त्यसपछि गरिएको विभागीय कारबाहीका क्रममा उनलाई सेवाबाटै हटाउने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।