इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा
सभापति थापाले काँग्रेसको गौरवशाली इतिहास भएपनि अब केवल अतीतको महिमामण्डन गरेर बस्ने छुट कसैलाई नभएको प्रष्ट पारे ।
काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गरेका छन् । पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परम्परागत कार्यशैली बदलेर आजैदेखि काँग्रेसको रूपान्तरण सुरु हुने बताएका हुन् ।
सभापति थापाले काँग्रेसको गौरवशाली इतिहास भएपनि अब केवल अतीतको महिमामण्डन गरेर बस्ने छुट कसैलाई नभएको प्रष्ट पारे । महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जा युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न सदुपयोग गरिने उनको भनाइ छ । सभापति थापाले काँग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने अठोट व्यक्त गरे ।
उनले पार्टीको पुनःसंरचना र नागरिकको भरोसा पुनःआर्जन केवल मौखिक भाषणबाट सम्भव नहुने यथार्थ औँल्याए । पार्टीपंक्तिलाई आचरण र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिँदै उनले कर्ममार्फत परिणाम देखाउनुपर्नेमा विशेष जोड दिए ।
काँग्रेसलाई आम नागरिकको भरोसाको केन्द्र बनाउनका लागि पार्टी सञ्चालनका हरेक कार्यपद्धतिमा आजैका मितिबाट आमूल परिवर्तन शुरु हुने दाबी गर्दै थापाले १५ औँ महाधिवेशनले दिएको म्यान्डेट मुलुक र जनताको हितमा पूर्ण रूपमा उपयोग गरिने प्रतिबद्धता जनाए ।