बुढीगण्डकी बाढी : माछिखोला बजारमा ठूलो क्षति, केरौंजा जाने झोलुंगे पुल बगायो
बाढीले केरौंजा जाने झोलुंगे पुल बगाउनुका साथै सल्लेरी र जगत बजारमा समेत क्षति पुर्याएको छ ।
गोरखा । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको ठूलो बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति पुर्याएको छ । बाढीले केरौंजा जाने झोलुंगे पुल बगाउनुका साथै सल्लेरी र जगत बजारमा समेत क्षति पुर्याएको छ ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ । स्थानीयका अनुसार नदी थुनिने र खुल्ने क्रम जारी रहेकाले पानीको बहावमा उतारचढाव भइरहेको छ । यसले तल्लो तटीय क्षेत्रका बस्तीमा थप जोखिम बढाएको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिएको छ ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको थियो । बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न उनले सबैलाई अनुरोध गरेका छन् ।
नदीमा पानीको बहाव निरन्तर बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।