घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका यि स्थानबाट गरिँदैछ एलपी ग्यास वितरण

कलंकी, बालाजु, पेप्सिकोला, सुकेधारा, सिफल र ललितपुरको हरिसिद्धिस्थित केन्द्रबाट बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौं । दशैँमा खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका ६ स्थानबाट एलपी ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था गरिएको छ । यसअन्तर्गत उपभोक्ताले एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार घटस्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने यो सुविधामा सिलिन्डर साट्दा अतिरिक्त शुल्क लाग्ने छैन । तर, भरिएको सिलिन्डरको तोकिएको मूल्य भने तिर्नुपर्नेछ । कलंकी, बालाजु, पेप्सिकोला, सुकेधारा, सिफल र ललितपुरको हरिसिद्धिस्थित केन्द्रबाट बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाइएको छ ।

संघका अध्यक्ष दिवान चन्दका अनुसार बजारमा विभिन्न ५८ ब्रान्डका सिलिन्डर प्रचलनमा रहेकाले एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीमा साट्दा उपभोक्ताले अतिरिक्त रकम तिर्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थाले यस्तो खर्च घटाउनुका साथै चाडपर्वमा ग्यास खोज्दै पसल धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि, जुनसुकै ब्रान्डको सिलिन्डर साट्न सकिने घोषणा गरिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्रै साटिदिएको उपभोक्ताको गुनासो छ । सुविधा दुरुपयोग हुन नदिन एक उपभोक्ताले एउटा मात्र सिलिन्डर साट्न पाउने व्यवस्था गरिएको छ ।