एडिबीले दियो ४७ अर्बको सहयोग, नारायणगढ–हेटौँडा र मुग्लिन–आँबुखैरेनी सडक चार लेनमा विस्तार हुने

आयोजनाले क्षेत्रीय व्यापार, पर्यटन र जैविक विविधता संरक्षणलाई समेत सहयोग पुर्‍याउने एडिबीको अपेक्षा छ ।

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको रणनीतिक राजमार्ग विस्तार, सडक सुरक्षा तथा वन्यजन्तु संरक्षणका लागि ४७ अर्ब ८ करोड ५५ लाख रुपैयाँ बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ । यस सहयोगबाट पूर्व–पश्चिम राजमार्गको नारायणगढ–हेटौँडा खण्डको ७० किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको ८.७ किलोमिटर सडक चार लेनमा विस्तार गरिनेछ ।

एडिबीले अक्टोबर ९ मा सार्वजनिक गरेको विवरणअनुसार आयोजनाका लागि ३०५.७५ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत भएको हो । यसमध्ये २८५ मिलियन डलर ऋण, २० मिलियन डलर अनुदान र ७ लाख ५० हजार डलर प्राविधिक सहायता रहेको छ। प्रतिडलर १५४ रुपैयाँका दरले ऋण, अनुदान र प्राविधिक सहायतासहित कुल रकम करिब ४७ अर्ब ८ करोड ५५ लाख रुपैयाँ हुन्छ ।

‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) राजमार्ग सुधार तथा पारिस्थितिक प्रणाली पुनर्स्थापना आयोजना’ अन्तर्गत सडकको क्षमता विस्तार, सडक सुरक्षा सुधार, विपद् जोखिम न्यूनीकरण र वन्यजन्तुको आवागमन सहज बनाउने पूर्वाधार निर्माण गरिनेछ । आयोजनाले क्षेत्रीय व्यापार, पर्यटन र जैविक विविधता संरक्षणलाई समेत सहयोग पुर्‍याउने एडिबीको अपेक्षा छ ।

आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको नारायणगढ–हेटौँडा खण्डको करिब ७० किलोमिटर सडक दुई लेनबाट चार लेनमा विस्तार गरिनेछ। नेपालको व्यस्त यातायात तथा व्यापारिक मार्गमध्ये एक रहेको यस खण्डमा सडकको क्षमता विस्तार गर्दा सवारी आवागमन सहज हुने, यात्रा समय घट्ने र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।

सडक विस्तारसँगै चितवनस्थित बरन्डाभार वन्यजन्तु मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनेछ । राजमार्गमा सवारीसाधनको चाप बढ्दा वन्यजन्तुको आवागमन अवरुद्ध हुने र सवारीसाधनसँग ठोक्किएर वन्यजन्तु मर्ने जोखिम कम गर्न उचाइमा रहेको सडक संरचना निर्माण गर्न लागिएको हो ।

बरन्डाभार वन्यजन्तु मार्ग तराई आर्क ल्यान्डस्केपअन्तर्गतका संरक्षित क्षेत्रबीच वन्यजन्तुको आवागमनका लागि महत्त्वपूर्ण क्षेत्र हो । सडक विस्तारका क्रममा प्राकृतिक बासस्थान संरक्षण र वन्यजन्तुको आवागमनलाई ध्यानमा राखिनेछ। यसले भौतिक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणलाई पनि प्राथमिकता दिने एडिबीको योजना छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी खण्डको बाँकी ८.७ किलोमिटर सडक पनि चार लेनमा विस्तार गरिनेछ । यस क्रममा आवश्यक नयाँ सडक खण्ड तथा पुल निर्माण गरिनेछ ।

काठमाडौंलाई पोखरासँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गको यस खण्डमा सडक क्षमता विस्तार र पूर्वाधार सुधारले यातायात सञ्चालनलाई सहज तथा सुरक्षित बनाउने अपेक्षा गरिएको छ । विशेषगरी सवारीसाधनको चाप व्यवस्थापन, यात्रा समय घटाउन र यात्राको विश्वसनीयता बढाउन आयोजना महत्त्वपूर्ण हुने एडिबीको भनाइ छ ।

दुवै सडक खण्डको सुधारले राष्ट्रिय यातायात सञ्जालको क्षमता बढाउनुका साथै यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ। यी मार्गले आन्तरिक यातायातसँगै व्यापार र पर्यटन गतिविधिमा पनि महत्त्वपूर्ण भूमिका खेल्छन्।

आयोजनाका लागि स्वीकृत अनुदानबाट जैविक विविधता संरक्षण, वन्यजन्तुको आवागमन सहज बनाउने पूर्वाधार तथा चितवन क्षेत्रको दिगो पर्यटन विकासमा सहयोग गरिनेछ । सडक विस्तारबाट प्राप्त हुने आर्थिक लाभसँगै प्राकृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकतामा राखिएको छ ।

आयोजनामा सडक सुरक्षासम्बन्धी उपाय सुधार गर्ने, महिलालाई तालिममार्फत जीविकोपार्जनका अवसर उपलब्ध गराउने तथा दिगो यातायात योजना निर्माण र कार्यान्वयनमा सरकारी निकायको संस्थागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रमसमेत समावेश छन् ।

यसरी आयोजना सडक निर्माण र विस्तारमा मात्र सीमित नभई स्थानीय समुदायको जीविकोपार्जन, पर्यटन विकास तथा वातावरण संरक्षणलाई समेत समेट्ने गरी अघि बढाइएको छ । यद्यपि, महिलाका लागि सञ्चालन गरिने तालिम, रोजगारीका अवसर तथा पर्यटन क्षेत्रमा हुने लगानीको विस्तृत विवरण एडिबीको सार्वजनिक सूचनामा खुलाइएको छैन ।