जलविद्युत निर्यातदेखि हवाई प्रवेश बिन्दुसम्म, भारतसँग आर्थिक लाभ लिन पुनको सुझाव
नेपालका लागि भारतका प्रश्तावित राजदुत निश्चलनाथ पाण्डेले पेश गरेको कार्ययोजनामाथि छलफल गर्दै सांसद वर्षमान पुनले नेपाल-भारत सम्बन्धका जटिलता चिर्दै आर्थिक लाभ लिने क्षेत्रहरूमा प्राथमिकताका साथ काम गर्न सुझाव दिएका छन् ।
काठमाडौं । नेपालका लागि भारतका प्रश्तावित राजदुत निश्चलनाथ पाण्डेले पेश गरेको कार्ययोजनामाथि छलफल गर्दै सांसद वर्षमान पुनले नेपाल-भारत सम्बन्धका जटिलता चिर्दै आर्थिक लाभ लिने क्षेत्रहरूमा प्राथमिकताका साथ काम गर्न सुझाव दिएका छन् ।
सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा पुनले जलविद्युत व्यापार, थप हवाई प्रवेश विन्दु र प्रविधि हस्तान्तरणका विषयलाई कुटनीतिक एजेण्डाको केन्द्रमा राख्न जोड दिएका हुन् । सांसद पुनले प्रश्तावित राजदुत पाण्डे कुटनीतिक क्षेत्रका अनुभवी र दक्षिण एशियाली मामिलाका जानकार भएको भन्दै उनको कार्ययोजनाले नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षलाई समेटेको बताए ।
उनले द्विपक्षीय व्यापार घाटा न्युनिकरण गर्न जलविद्युत निर्यातलाई दीर्घकालीन रणनीतिको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक अतिरिक्त हवाई प्रवेश बिन्दु पाउन नसक्नु नेपालको प्रमुख चुनौती रहेको उनले औँल्याए । पुनकाअनुसार लो-अल्टिच्युड फ्लाइट रुटमार्फत भएपनि सहज प्रवेश बिन्दु प्राप्त गर्नसके भारतीय पर्यटकको आगमन हालको तुलनामा दोब्बर हुनसक्छ । पुनले हालको व्यापार घाटा कम गर्ने मुख्य आधार जलविद्युत र पर्यटन नै भएको उल्लेख गरे ।
पुनले पछिल्लो समय भारतबाट नेपालमा भित्रिने लगानीमा आएको कमीप्रति चिन्ता व्यक्त गर्दै लगानी प्रवद्र्धनमा नयाँ कुटनीतिक पहलको आवश्यकता औँल्याए । उनले भारतको आईटी क्षेत्रको प्रगतिको लाभ लिन विगतमा भएका समझदारीहरूअनुसार उच्चस्तरीय प्राविधिक तालिम र संस्थागत सहकार्यलाई कार्यान्वयनमा लैजान पनि राजदुतको ध्यानाकर्षण गराए ।