२ महिनामै जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब, कुनको व्यापार कति?

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले साउन र भदौमा १० अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीले साउन र भदौमा कुल ४१ अर्ब २९ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको साउन र भदौमा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । एक वर्षको अवधिमा बीमा व्यवसायमा भएको वृद्धिले जीवन बीमाप्रतिको आकर्षण बढ्दै गएको देखाउँछ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा संकलित बीमाशुल्कमध्ये ३२ अर्ब ५९ करोड ७३ लाख रुपैयाँ नवीकरण बीमालेखबाट प्राप्त भएको छ । त्यस्तै, नयाँ बीमालेख बिक्रीबाट ८ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

नेपाल लाइफको हिस्सा सबैभन्दा धेरै

जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले साउन र भदौमा १० अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यसमध्ये २ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमाशुल्क र ८ अर्ब ४९ करोड रुपैयाँ नवीकरण बीमाशुल्क रहेको छ ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले ३ अर्ब ६७ करोड रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ४६ करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ६९ करोड रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ४८ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ र मेटलाइफले १ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमा व्यवसाय समग्रमा विस्तार भइरहँदा वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार भने घटेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत चालु आर्थिक वर्षको साउन र भदौमा ५५ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यसमार्फत ५८ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । यसअनुसार वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार गत वर्षको तुलनामा ५.२२ प्रतिशतले खुम्चिएको छ ।

लघु जीवन बीमामा गार्डियन अगाडि

तीन लघु जीवन बीमा कम्पनीले भदौ मसान्तसम्म कुल १९ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । लघु जीवन बीमा कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले ७ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ६ करोड ७८ लाख रुपैयाँ र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले ५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।