जलवायुजन्य विपद् जोखिम न्युनिकरणका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः भण्डारी
तापमानमा भइरहेको असन्तुलित वृद्धिका कारण विश्वले गम्भीर चुनौती सामना गरिरहेको भएपनि हिन्दुकुश क्षेत्रको भूगोलमा भएको कारण नेपाल थप जोखिममा रहेको बताइन् ।
काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको बताएकी छन् । सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
तापमानमा भइरहेको असन्तुलित वृद्धिका कारण विश्वले गम्भीर चुनौती सामना गरिरहेको भएपनि हिन्दुकुश क्षेत्रको भूगोलमा भएको कारण नेपाल थप जोखिममा रहेको बताइन् । हिमाली क्षेत्रमा दोहोरिरहेका विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्युनिकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएको उनको भनाइ छ ।
उनले विपद्पछिको उद्धार र राहतमा मात्र सिमित नभई भविष्यमा हुनसक्ने क्षति न्युनिकरणको लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिइन् । उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य र समन्वयको आवश्यकता रहेको पनि बताइन् ।