इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण
उनले नेपाल र इजरायलबीचको पर्यटन प्रवद्र्धनका लागि सन् २०२७ मा ‘ट्रेक फर रिकभरी’ अभियान सञ्चालन गर्ने र दुई देशबीचको एयर कनेक्टिभिटीका समस्या समाधान गर्न हवाई सेवा सम्झौता कार्यान्वयनमा जोड दिने बताए ।
काठमाडौं । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै उनले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक र प्राविधिक सहयोगमा केन्द्रित गर्ने बताएका हुन् । प्रस्तावित राजदुत कर्णले इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्ने बताए ।
श्रमिकहरूको सुरक्षाका लागि ‘ड्यासबाट कनेक्ट’ नामक प्राविधिक संयन्त्र निर्माण गर्ने उनको योजना छ । यो प्रणालीमार्फत इजरायलमा रहेका नेपाली श्रमिकहरूको समस्या पहिचान, कन्सुलर सेवाको ट्रयाकिङ र रियल-टाइम सूचना प्रवाह गर्ने लक्ष्य राखिएको छ । यसको सर्भर नेपालमै राखेर सुरक्षा मापदण्ड सुनिश्चित गरिने उनले स्पष्ट पारे । लगानीका विषयमा बोल्दै कर्णले आफ्नो अनुभव आईटी र बैंकिङ क्षेत्रमा रहेको बताउँदै नेपालमा वैदेशिक लगानी भित्र्याउन आफू प्रतिवद्ध रहेको बताए ।
उनले कोमो ल्याब प्राइभेट लिमिटेडसँगको आफ्नो संलग्नता विशुद्ध निजी क्षेत्रको पहल भएको स्पष्ट पार्दै स्वार्थको द्वन्द्व नहोस् भनी आफूले त्यसबाट राजीनामा दिइसकेको जानकारी दिए । उनले नेपाल र इजरायलबीचको पर्यटन प्रवद्र्धनका लागि सन् २०२७ मा ‘ट्रेक फर रिकभरी’ अभियान सञ्चालन गर्ने र दुई देशबीचको एयर कनेक्टिभिटीका समस्या समाधान गर्न हवाई सेवा सम्झौता कार्यान्वयनमा जोड दिने बताए ।