सेयर बजार २५९९ अंकमा, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि सकारात्मक भइ बन्द भइरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

मंगलबार नेप्से परिसूचक ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा पुगेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.३५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ । 

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य आज सर्वाधिक १२.४४ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । आज स्नो रिभर्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६ करोड ४७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको करिब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ । 

१३ उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । आज जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १।७७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ ।

मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।