चाडपर्वमा साइबर ठगी नियन्त्रण गर्न बैंकहरूमा २४ घण्टे सम्पर्क व्यक्ति तोक्न राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकलाई सूचना जारी गर्दै तोकिएका सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र चौबिसै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगाना उपलब्ध गराउन भनेको हो ।
काठमाडौँ । दसैँ, तिहार तथा छठ पर्वको लामो बिदामा हुन सक्ने साइबर ठगी र अनलाइन आर्थिक अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २४ सै घण्टा सम्पर्कमा रहने जिम्मेवार व्यक्ति तोक्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकलाई सूचना जारी गर्दै तोकिएका सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र चौबिसै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगाना उपलब्ध गराउन भनेको हो । उक्त विवरण नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोको इमेल ठेगानामा पठाउनुपर्नेछ ।
विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा लामो समय सार्वजनिक बिदा हुने भएकाले यस अवधिमा साइबर ठगी तथा अनलाइन आर्थिक अपराधका घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर केन्द्रीय बैंकले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार चाडपर्वका बेला साइबर ठगीका घटना भएमा तोकिएका सम्पर्क व्यक्ति र संयन्त्रमार्फत कारोबारसम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सकिनेछ । यसबाट शंकास्पद वालेट तथा कारोबार पहिचान गरी समयमै रोक्का गर्न र प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।
बैंक तथा वित्तीय संस्थामा नियमित कामकाज प्रभावित हुने लामो सार्वजनिक बिदाका बेला पनि साइबर ठगीका घटनामा तत्काल समन्वय गर्न सकियोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यो व्यवस्था गरेको हो । यसले शंकास्पद कारोबार नियन्त्रण गर्न र ठगीबाट हुन सक्ने थप आर्थिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।