राष्ट्र बैंकको डिजिटल फाइनान्स इनोभेसन हबमा ५० फिनटेक आबद्ध, ४० प्रतिशत उत्पादन बजारमा जान तयार

हबमा आबद्ध भएकामध्ये सबैभन्दा धेरै ३० वटा अनुमतिपत्र नलिएका फिनटेक कम्पनी छन् ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा तथा वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा नयाँ सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सञ्चालनमा ल्याएको ‘डिजिटल फाइनान्स इनोभेसन हब’ मा ५० वटा फिनटेक अवधारणा तथा संस्था आबद्ध भएका छन् । तीमध्ये २० वटा नवप्रवर्तन पूर्ण रूपमा तयार भई बजारमा जान योग्य रहेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागअन्तर्गतको भुक्तानी अनुसन्धान तथा विकास एकाइ (डिफाइ–हब सचिवालय) ले सार्वजनिक गरेको ‘इम्प्याक्ट रिपोर्ट–२०२६’ अनुसार हबले ५० वटा फिनटेक अवधारणा तथा संस्थासँग प्रत्यक्ष सहकार्य र प्राविधिक परामर्श गरेको हो । प्रतिवेदनले नेपालमा डिजिटल वित्तीय सेवासम्बन्धी नवप्रवर्तनले गति लिँदै गएको देखाएको छ ।

हबमा आबद्ध भएकामध्ये सबैभन्दा धेरै ३० वटा अनुमतिपत्र नलिएका फिनटेक कम्पनी छन् । त्यस्तै, ८ वटा भुक्तानी प्रणाली सञ्चालक, ४ वटा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, ३ वटा भुक्तानी सेवा प्रदायक, ३ जना व्यक्तिगत नवप्रवर्तक, एउटा रेमिट्यान्स कम्पनी र एउटा बैंक तथा भुक्तानी सेवा प्रदायकको साझेदारी समूह सहभागी छन् ।

भुक्तानी र डिजिटल कर्जामा बढी आकर्षण

प्रतिवेदनअनुसार हबमा आबद्ध नवप्रवर्तनमध्ये भुक्तानी प्रणाली र डिजिटल कर्जासम्बन्धी अवधारणामा बढी आकर्षण देखिएको छ । भुक्तानी प्रणालीसँग सम्बन्धित १२ वटा र डिजिटल कर्जासम्बन्धी ११ वटा नवप्रवर्तन हबमा आबद्ध छन् ।

त्यस्तै, क्रेडिट स्कोरिङका ७ वटा, इम्बेडेड फाइनान्सका ५ वटा, ओपन बैंकिङ तथा फाइनान्सका ४ वटा र वेल्थटेक, विज्ञापन प्लेटफर्म तथा व्यापारिक बजारस्थललगायत अन्य क्षेत्रका ४ वटा नवप्रवर्तन रहेका छन् । नियामकीय प्रविधि (रेगटेक) का ३ वटा, डिजिटल अनबोर्डिङका २ वटा, डिजिटल पहिचानसम्बन्धी एउटा र वित्तीय सेवालाई सहयोग गर्ने प्राविधिक समाधानसम्बन्धी एउटा नवप्रवर्तन पनि हबमा आबद्ध छन् ।

४० प्रतिशत नवप्रवर्तन बजारमा जान तयार

हबमा आबद्ध ५० वटा नवप्रवर्तनमध्ये २० वटा अर्थात् ४० प्रतिशत पूर्ण रूपमा तयार भई बजारमा जान योग्य रहेको प्रतिवेदनमा उल्लेख छ । यसले हबमा आएका उल्लेख्य नवप्रवर्तन व्यावसायिक प्रयोगको चरणसम्म पुगेको देखाउँछ ।

त्यस्तै, ८ वटा अवधारणात्मक चरणमा छन् भने ७ वटा पाइलट परीक्षणका लागि तयार भएका छन् । अन्य ७ वटा विकासको क्रममा, ४ वटा प्रोटोटाइप तयार भएको अवस्थामा, ३ वटा निकट भविष्यमा अघि बढाउने योजनामा र एउटा बन्द प्रयोगकर्ता समूहमा परीक्षण भइरहेको छ ।

नियामकीय स्पष्टता र नीतिगत सुझावमा पनि सहकार्य

डिजिटल वित्तीय सेवामा नयाँ अवधारणा अघि बढाउन हबले नवप्रवर्तकलाई नियामकीय तथा नीतिगत सहजीकरणसमेत गर्दै आएको छ । प्रतिवेदनअनुसार हबमार्फत १४ वटा विषयमा सम्बन्धित नवप्रवर्तकलाई नियामकीय स्पष्टता प्रदान गरिएको छ भने २० वटा प्रारम्भिक अन्तरक्रिया सम्पन्न भएका छन् ।

त्यस्तै, ९ वटा प्रस्ताव समीक्षाको क्रममा रहेका छन् । तीनवटा नवप्रवर्तनलाई औपचारिक मार्गदर्शन उपलब्ध गराइएको छ भने नीति निर्माणमा सहयोग पुग्ने गरी तीनवटा नीतिगत सुझाव सम्बन्धित विभागमा पठाइएको छ । थप तीनवटा समूहबाट औपचारिक प्रस्ताव आउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवामा देखिएका नयाँ तथा उदीयमान अवधारणालाई प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल फाइनान्स इनोभेसन हब सञ्चालनमा ल्याएको हो । हबले नवप्रवर्तकलाई विद्यमान ऐन, नीति तथा नियमबारे जानकारी दिने, नयाँ विचार अघि बढाउन गैरबाध्यकारी नियामकीय मार्गदर्शन उपलब्ध गराउने र भविष्यको नीतिगत ढाँचा निर्माणमा सम्बन्धित विभागलाई सुझाव दिने काम गर्दै आएको छ ।

यसले नयाँ वित्तीय प्रविधिको विकास र विस्तारका लागि नवप्रवर्तक तथा नियामकबीच सहकार्य बढाउनुका साथै डिजिटल वित्तीय सेवासम्बन्धी नीतिगत स्पष्टता कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।