राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ ।

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज (असोज २९ गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल निष्काशित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ ।

उक्त ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते बन्द हुनेछ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

ऋणपत्रको क्रेडिट रेटिङका क्रममा केयर रेटिङ्ग्स नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले बैंक आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्छ ।

ऋणपत्रबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।