खगेन्द्र सुनारद्वारा आरोप अस्वीकार, पार्टी अनुशासन आयोगलाई लिखित जवाफ पठाए
यस प्रकरणबारे स्पष्ट पार्न आयोगले मंगलबार सुनारसँग लिखित प्रतिक्रिया मागेको थियो। आयोगका एक सदस्यका अनुसार सुनारले तोकिएको समयभित्रै जवाफ बुझाउँदै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगसमक्ष लिखित जवाफ दिएका छन् । एक महिलासँग आपत्तिजनक अभिव्यक्ति र धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिने अडियो सार्वजनिक भएपछि उनी विवादमा परेका हुन्।
यस प्रकरणबारे स्पष्ट पार्न आयोगले मंगलबार सुनारसँग लिखित प्रतिक्रिया मागेको थियो। आयोगका एक सदस्यका अनुसार सुनारले तोकिएको समयभित्रै जवाफ बुझाउँदै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन् ।
आयोगका ती सदस्यले आरोप स्वीकार नगरेको र पीडित पक्षबाट समेत औपचारिक उजुरी नआएको अवस्थामा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र रूपमा छानबिन अघि बढाइने जानकारी दिएका छन् ।
सोमबार जनआस्था साप्ताहिकले एक महिलासँगको कुराकानीमा आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिने अडियो सार्वजनिक गरेको थियो । उक्त सामग्री बाहिरिएपछि विभिन्न पक्षबाट आलोचना भएपछि रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।
आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले सुनारको लिखित प्रतिक्रिया लिने प्रारम्भिक काम पूरा भइसकेको र अब थप प्रमाण जुटाउने प्रक्रिया अघि बढाइएको बताएका छन् । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै लिखित जवाफमा मात्र सीमित नभई विस्तृत अनुसन्धान गर्न लागिएको उनको भनाइ छ।
भट्टराईका अनुसार सार्वजनिक अडियोको वास्तविक स्रोत पहिचान गर्ने, सम्बन्धित सामग्री तथा कागजात संकलन गर्ने र आवश्यक परे विज्ञमार्फत अडियोको प्राविधिक परीक्षण तथा प्रमाणीकरण गरिनेछ। यसका लागि अडियो सार्वजनिक गर्ने सञ्चारमाध्यमसँग आवश्यक सामग्री उपलब्ध गराउन पत्राचार गर्ने निर्णयसमेत गरिएको छ ।
छानबिनलाई थप प्रभावकारी बनाउन आयोगले भट्टराईकै संयोजकत्वमा विशेष समिति गठन गरेको छ । समितिमा आयोगका सदस्यहरू पनि सहभागी छन् । समितिलाई अनुसन्धानका बाँकी काम पूरा गरी आफ्नो रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगमा बुझाउने जिम्मेवारी दिइएको छ ।
भट्टराईका अनुसार बिहीबार बसेको आयोगको बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो । समितिले काम सुरु गरिसकेको छ भने जनआस्था साप्ताहिकसँग अडियो, भिडियो तथा अन्य उपलब्ध प्रमाण माग्ने प्रक्रिया पनि अघि बढाइएको छ । सुनारमाथि उठेका आरोपको अन्तिम निष्कर्ष भने छानबिनबाट प्राप्त प्रमाण र समितिको प्रतिवेदनपछि मात्रै स्पष्ट हुनेछ ।