वर्गीय विभेद घटे पनि जातीय असमानता कायमैः पूर्वअर्थमन्त्री खतिवडा
उनले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रमसँगै परम्परागत वर्गहरू रूपान्तरित भइरहेको र नयाँ वर्गको उदय भइरहेको समेत बताए ।
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् ।
एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले नेपाली समाजको वर्ग संरचना हेर्दा जातीय तथा लैंगिक विभेदलाई समेत हेरिनुपर्ने बताउँदै अझै पनि त्यस्ता अवशेष रहेको बताएका हुन् । उनले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रमसँगै परम्परागत वर्गहरू रूपान्तरित भइरहेको र नयाँ वर्गको उदय भइरहेको समेत बताए । जात र वर्ग सामाजिक संरचनाका भिन्न पक्ष भए पनि नेपाली समाजमा यी बीच प्रत्यक्ष सम्बन्ध रहेकाले समाजको अध्ययनमा दुवैलाई आधार बनाउनुपर्ने उनको भनाइ थियो । खतिवडाले राज्यबाट प्राप्त हुने संरक्षण, राजकीय अवसर, सुविधा तथा सहुलियत वर्गीय अवस्थाभन्दा जातजाति र समुदायका आधारमा निर्धारण हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसले निम्न वर्गको संरक्षण र सहयोग कमजोर हुँदै जाने जोखिम रहेको बताए । उनकाअनुसार राजनीतिक दलहरूको वर्गीय पक्षधरता पनि स्पष्ट हुन सकेको छैन् ।
आधुनिक ज्ञानमा आधारित अर्थतन्त्रमा बौद्धिक सम्पती, प्राविधिक ज्ञान, सीप तथा अन्वेषण नयाँ वर्ग निर्माणका महत्त्वपूर्ण आधारका रूपमा विकसित हुँदै गएको बताउँदै उनले बदलिँदो अर्थतन्त्रअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको अध्ययन गर्नुपर्नेमा जोड दिए ।
खतिवडाका अनुसार नेपालका करिव ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन । कृषि क्षेत्रको मौद्रीकरण र व्यावसायीकरण अझै पूर्ण हुन सकेको छैन । कृषिमा शोषणयुक्त लेनदेन सम्बन्ध कायम रहनुका साथै कृषिलाई व्यावसायिक अवसरभन्दा बाध्यताका रूपमा लिने प्रवृत्ति पनि कायमै रहेको उनको भनाइ थियो ।