महासंघको प्रतिनिधिमण्डलद्वारा पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट

भेटका क्रममा महासंघका अध्यक्ष श्रेष्ठले उद्योग–व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइ हटाउन, पूर्वाधार विकासलाई तीव्रता दिन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राखे ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले देशमा लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालय पुगेर मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गर्दै निजी क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेको हो ।

भेटका क्रममा महासंघका अध्यक्ष श्रेष्ठले उद्योग–व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइ हटाउन, पूर्वाधार विकासलाई तीव्रता दिन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राखे ।

साथै, हालै गएको बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित बनेका उद्योग, व्यवसाय, आपूर्ति प्रणाली तथा पूर्वाधारको तत्काल पुनर्स्थापना गरी आर्थिक गतिविधिलाई सामान्य लयमा फर्काउन आवश्यक सहजीकरण गर्नुपर्नेमा उहाँले विशेष जोड दिए ।

अध्यक्ष श्रेष्ठले भने, ‘सरकार सबैको अभिभावक हो । निजी क्षेत्र उत्पादन तथा उत्पादकत्व वृद्धि, निर्यात विस्तार र रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सधैं तयार छ। यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ ।’

उनले उद्योगी–व्यवसायीले भोगिरहेका प्रशासनिक झन्झट र लगानी विस्तारका अवरोध हटाउन सरकारसँग आग्रह गरे ।

छलफलका क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले महासंघले उठाएका विषयप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सरकार आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार गर्न लागिपरेको बताए ।

निजी क्षेत्रले भोगिरहेका समस्या र गर्नुपर्ने सुधारका विषयलाई स्पष्ट रूपमा सरकारसमक्ष ल्याउन आग्रह गर्दै मन्त्री लम्सालले भने, ‘निजी क्षेत्रका समस्याहरू के–के छन्, के–कस्ता कानुनी सुधार गर्दा देशमा आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्र चलायमान हुन्छ—सरकार त्यो गर्न तयार छ । ती समस्या निजी क्षेत्रले खुलस्त राखोस् ।’

उनले स्थानीय उद्योगहरूको प्रवर्द्धन तथा दिगो सञ्चालनका लागि सरकार हरदम तत्पर रहेको प्रतिबद्धतासमेत व्यक्त गरे ।

भेटवार्तामा महासंघले निजी क्षेत्रका समस्या तथा सुझावहरूलाई सरकारसमक्ष निरन्तर प्रस्तुत गर्दै नीतिगत सुधार, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।