प्रहरी सेवामा प्रविधि र विशेष सेलको विस्तारः नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प
आईजीपी कार्कीले प्रहरी संगठनको आधारस्तम्भ मानिएको ‘चेन अफ कमाण्ड’ र अनुशासन कायम राख्न थप शतर्कता आवश्यक रहेको बताए ।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको बताएका छन् ।
शुक्रवार आयोजित ७१ औं प्रहरी दिवसका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने बताए । आईजीपी कार्कीले पछिल्लो समय प्रहरीले सूचना प्रविधिको उच्च प्रयोगमार्फत अपराध अनुसन्धानमा फड्को मारेको बताए । आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटी (ड्रोन एण्ड एन्टि-ड्रोन युनिट), र इन्टिग्रेटेड एन्टि-स्क्याम सेन्टरजस्ता संरचनाहरूले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे । आईजीपी कार्कीले प्रहरी संगठनको आधारस्तम्भ मानिएको ‘चेन अफ कमाण्ड’ र अनुशासन कायम राख्न थप शतर्कता आवश्यक रहेको बताए । उनले संगठनलाई थप उत्तरदायी बनाउन सबैको सहयोग र समन्वयको अपेक्षा गर्दै अमर प्रहरीहरूको बलिदानलाई स्मरण गरे ।
समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।