एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

एनपीएल सुरु हुनुअघिको छ महिनाभित्र आइसिसी वा सम्बन्धित क्रिकेट बोर्डको स्वीकृति नलिएको प्रतियोगितामा सहभागी भएका खेलाडी एनपिएल खेल्न अयोग्य हुनेछन् ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने विदेशी खेलाडीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले योग्यता र स्वीकृतिसम्बन्धी नियम कडा बनाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता प्राप्त गरेपछि प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न विदेशी खेलाडीले सम्बन्धित देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्ने व्यवस्था गरिएको हो ।

क्यानका सचिव पारस खड्काले शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीका नियम तथा मापदण्ड लागू गरिने जानकारी दिए । नयाँ व्यवस्थाले विदेशी खेलाडीको सहभागिता, प्रतियोगिताको पारदर्शिता र खेलमा हुन सक्ने अनियमितता नियन्त्रणलाई प्राथमिकता दिएको छ ।

नियमअनुसार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले समेत आफ्नो देशको क्रिकेट बोर्डबाट एनओसी लिनुपर्नेछ । त्यसैगरी, एनपीएल सुरु हुनुअघिको छ महिनाभित्र आइसिसी वा सम्बन्धित क्रिकेट बोर्डको स्वीकृति नलिएको प्रतियोगितामा सहभागी भएका खेलाडी एनपिएल खेल्न अयोग्य हुनेछन् ।

यस व्यवस्थाले विदेशी खेलाडीको विगतको खेल गतिविधि र उनीहरू सहभागी भएका प्रतियोगिताको वैधतासमेत जाँचिनेछ । फ्रेन्चाइज टोलीले खेलाडी अनुबन्ध गर्दा उनीहरूको योग्यता र आवश्यक कागजात सुनिश्चित गर्नुपर्नेछ । एनपीएलमा खेलको नतिजा प्रभावित पार्ने गतिविधि, म्याच फिक्सिङ र स्पट फिक्सिङ रोक्न आइसिसीको भ्रष्टाचारविरोधी एकाइ (एसीयू) अन्तर्गतका नियम कडाइका साथ लागू गरिने क्यानले जनाएको छ ।

सचिव खड्काका अनुसार प्रतियोगितामा नेपालको प्रचलित कानुनसँगै आइसिसीको भ्रष्टाचारविरोधी आचारसंहिता पनि लागू हुनेछ । त्यसैले खेलाडी, फ्रेन्चाइज टोलीका मालिक तथा प्रतियोगितासँग सम्बन्धित सबै पक्षले नियमको पालना गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिताका रूपमा एनपीएलको विश्वसनीयता कायम राख्न खेलमा हुने सम्भावित अनियमितता नियन्त्रण महत्त्वपूर्ण हुने क्यानको बुझाइ छ । नियम उल्लङ्घन गर्ने गतिविधिमाथि निगरानी राख्दै प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउने उद्देश्य राखिएको छ ।

क्यानले एनपीएलको तेस्रो संस्करण सम्पन्न भएपछि ६० दिनभित्र प्रतियोगिताको समीक्षा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था पनि रहेको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार एनपिएलका प्रत्येक फ्रेन्चाइज टोलीले कम्तीमा छ र बढीमा आठ जना विदेशी खेलाडी टोलीमा राख्न पाउनेछन् । तर खेलमा सहभागी हुने अन्तिम ११ खेलाडीको सूचीमा नेपाली र विदेशी खेलाडीको सङ्ख्या निश्चित गरिएको छ ।

अन्तिम ११ मा सात नेपाली र चार विदेशी खेलाडी समावेश गर्नुपर्नेछ। यस व्यवस्थाले विदेशी खेलाडीको अनुभवसँगै नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

टोलीमा विदेशी खेलाडीको सङ्ख्या बढी राख्न सकिने भए पनि मैदानमा उतारिने खेलाडीको सीमाले नेपाली खेलाडीको सहभागिता सुनिश्चित गर्नेछ । यसले घरेलु खेलाडीको क्षमता विकास र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव बढाउन सहयोग पुग्ने अपेक्षा छ ।

एनपीएलमा निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) लागू गर्ने विषयमा पनि क्यानले तयारी अघि बढाएको छ । खेलका क्रममा अम्पायरको निर्णयप्रति असहमति भएमा प्रविधिको सहयोगबाट पुनरावलोकन गर्न सकिने यो प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको सचिव खड्काले जानकारी दिए ।

यस विषयमा सोमबारसम्म औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी रहेको उनले बताए । डिआरएस लागू भएमा खेलका महत्त्वपूर्ण निर्णयलाई थप विश्वसनीय बनाउन र अम्पायरिङसम्बन्धी विवाद कम गर्न सहयोग पुग्न सक्छ ।

क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा आइसिसी एसिया सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट सङ्घका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन् ।

सम्मेलनमा एसियाली क्रिकेटको नीतिगत विकास, क्षेत्रीय सहकार्य र क्रिकेटको विस्तारसँग सम्बन्धित विषयमा छलफल हुने क्यानले जनाएको छ ।