एसआईपी के हो? यसलाई लगानीको नयाँ विकल्प किन मानिन्छ?

नेपालमा करिब आठ वर्षअघि सुरु भएको एसआईपीको विस्तार खुलामुखी म्युचुअल फन्डको सञ्चालन बढेसँगै तीव्र भएको हो ।

काठमाडौं । नियमित रूपमा थोरै रकम बचत गरेर दीर्घकालीन रूपमा ठूलो कोष निर्माण गर्न चाहने लगानीकर्तामाझ व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान–एसआईपी) लोकप्रिय बन्दै गएको छ । पुँजी बजारमा प्रत्यक्ष लगानी गर्न पर्याप्त रकम नभएका वा बजारको उतारचढावको जोखिम व्यवस्थापन गर्दै लगानी गर्न चाहनेहरूका लागि एसआईपी म्युचुअल फन्डमार्फत लगानी गर्ने एउटा विकल्पका रूपमा विस्तार भइरहेको छ ।

नेपालमा करिब आठ वर्षअघि सुरु भएको एसआईपीको विस्तार खुलामुखी म्युचुअल फन्डको सञ्चालन बढेसँगै तीव्र भएको हो । सन् २०२३ सम्म सातवटा एसआईपी योजना सञ्चालनमा रहेकामा सन् २०२४ मा कुनै नयाँ योजना थपिएनन् । त्यसयता भने थप छवटा योजना सञ्चालनमा आएसँगै हालसम्म एसआईपी योजनाको संख्या १३ पुगेको छ ।

एसआईपीअन्तर्गत लगानीकर्ताले आफ्नो आर्थिक क्षमताअनुसार निश्चित रकम साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा आफूले छनोट गरेको म्युचुअल फन्डमा लगानी गर्न सक्छन् । एकैपटक ठूलो रकम लगानी गर्नुपर्ने बाध्यता नहुने भएकाले नियमित आम्दानी गर्ने व्यक्तिले सानो बचतबाटै लगानी सुरु गर्न सक्छन् । यसले बचत गर्ने बानी विकास गर्नुका साथै दीर्घकालीन वित्तीय लक्ष्य हासिल गर्न पनि सहयोग पु¥याउन सक्छ ।

नेपालमा सन् २०२३ सम्म एनआईबीएल सहभागिता फन्ड, एनआईसी एसिया डायनामिक डेप्ट फन्ड, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम, एनएमबी सरल बचत फन्ड–ई, शुभलक्ष्मी कोष, नबिल फ्लेक्सी क्याप फन्ड र कुमारी सुनौलो लगानी योजनासहित सातवटा एसआईपी योजना सञ्चालनमा थिए ।

सन् २०२४ मा नयाँ योजना नथपिए पनि त्यसपछि सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फन्ड, प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम, सिटिजन क्यापिटलको सिटिजन सदाबहार योजना, नबिल इन्भेस्टमेन्टको एनआई–३१, एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम र माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआईपी योजना सञ्चालनमा आएका छन् ।

लामुखी म्युचुअल फन्डको विस्तारसँगै एसआईपीका विकल्प बढ्दै गएका छन् । यस्ता योजनामा सर्वसाधारणले लगानी गर्दा कोष व्यवस्थापकले सम्बन्धित योजनाको नियम र लगानी उद्देश्यअनुसार रकम परिचालन गर्छन् । सामान्यतया प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यबाट सुरु हुने यस्ता योजनामा लगानीकर्ताले निश्चित रकमबराबरका इकाइ प्राप्त गर्छन् । यद्यपि, इकाइको वास्तविक खरिद मूल्य सम्बन्धित योजनाको खुद सम्पत्ति मूल्य (नेट एसेट भ्यालु–न्याभ) अनुसार फरक पर्न सक्छ ।

एसआईपीले कसरी काम गर्छ ?

एसआईपीमा लगानीकर्ताले छनोट गरेको योजनामा नियमित रूपमा रकम जम्मा गर्छन् । त्यस रकमबाट कोष व्यवस्थापकले योजनाको उद्देश्यअनुसार सेयर, ऋणपत्र, मुद्दती निक्षेपलगायतका वित्तीय उपकरणमा लगानी गर्छन् । विभिन्न कम्पनी तथा वित्तीय उपकरणमा रकम परिचालन गर्दा एउटै क्षेत्रमा मात्र लगानी गर्दाको जोखिम कम गर्न सहयोग पुग्न सक्छ ।

कोष व्यवस्थापकले बजारको अवस्था, कम्पनीको वित्तीय स्थिति, सम्भावित प्रतिफल र जोखिमको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय गर्छन् । योजनाले गरेको लगानीको मूल्यमा हुने परिवर्तनले त्यसको खुद सम्पत्ति मूल्यमा पनि प्रभाव पार्छ । लगानीको मूल्य बढ्दा न्याभ बढ्न सक्छ भने बजार वा लगानीको मूल्य घट्दा न्याभ घट्न पनि सक्छ ।

लगानीकर्ताले आफ्नो आवश्यकताअनुसार सम्बन्धित योजनाका प्रचलित नियम र सर्तअनुसार इकाइ बिक्री वा फिर्ता गर्न सक्छन् । खुलामुखी म्युचुअल फन्डका इकाइ सामान्यतया सेयर बजारमा सूचीकृत सेयरजस्तै नेप्सेमा किनबेच हुँदैनन् । तिनको खरिद तथा बिक्री सम्बन्धित कोष व्यवस्थापकले तोकेको प्रक्रियाबाट हुन्छ ।

इक्विटी र डेप्ट फन्डमध्ये कुन रोज्ने ?

नेपालमा सञ्चालनमा रहेका एसआईपी योजनालाई मुख्यतः इक्विटीमा केन्द्रित र डेप्टमा केन्द्रित गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । उपलब्ध विवरणअनुसार एनआईसी एसिया डायनामिक डेप्ट फन्ड डेप्टमा केन्द्रित एसआईपी योजनाका रूपमा रहेको छ भने अन्य योजनाहरू इक्विटीमा केन्द्रित छन् । इक्विटीमा केन्द्रित फन्डले आफ्नो लगानीको ठूलो हिस्सा सेयर बजारमा परिचालन गर्छन् । सेयर बजारमा सुधार आउँदा यस्ता फन्डको सम्पत्ति मूल्य बढ्न र लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने सम्भावना हुन्छ । तर, बजारमा गिरावट आउँदा यस्ता योजनाको मूल्य र प्रतिफलमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले उच्च प्रतिफलको सम्भावनासँगै जोखिम पनि स्वीकार गर्न सक्ने र लामो समयसम्म लगानी कायम राख्न चाहनेका लागि इक्विटी फन्ड उपयुक्त विकल्प हुन सक्छ ।

यसको विपरीत, डेप्टमा केन्द्रित फन्डले ऋणपत्र, डिबेन्चर तथा मुद्दती निक्षेपजस्ता साधनमा बढी लगानी गर्छन् । यस्ता साधनबाट ब्याज वा निश्चित आय प्राप्त हुने भएकाले इक्विटी फन्डको तुलनामा प्रतिफलमा कम उतारचढाव हुन सक्छ । यद्यपि, डेप्ट फन्डको प्रतिफल पनि पूर्ण रूपमा सुनिश्चित हुँदैन । ब्याजदर, ऋण तिर्ने पक्षको क्षमता र अन्य बजारगत कारणले यसको मूल्य तथा आम्दानीमा असर पर्न सक्छ ।

त्यसैले एसआईपी योजना छनोट गर्दा अरूले प्राप्त गरेको प्रतिफललाई मात्र आधार बनाउनुभन्दा आफ्नो लगानीको उद्देश्य, समयावधि, जोखिम वहन गर्ने क्षमता र आवश्यकतासँग मेल खाने योजना रोज्नु महत्त्वपूर्ण हुन्छ ।

एसआईपीमा कसरी सहभागी हुने ?

एसआईपीमा सहभागी हुन इच्छुक लगानीकर्ताले सम्बन्धित कोष व्यवस्थापक वा क्यापिटल कम्पनीले तोकेको प्रक्रियाअनुसार आवेदन दिनुपर्छ । आवेदनका क्रममा लगानी गर्न चाहेको योजना, रकम, किस्ता बुझाउने अवधि र भुक्तानी मितिजस्ता विवरण उपलब्ध गराउनुपर्ने हुन सक्छ । आवश्यक प्रक्रिया पूरा गरेपछि चेक वा उपलब्ध अनलाइन माध्यमबाट रकम भुक्तानी गर्न सकिन्छ ।

लगानीकर्ताले छनोट गरेको योजनाको व्यवस्थाअनुसार नियमित रूपमा रकम जम्मा गर्दै जाँदा सोहीअनुसार इकाइ प्राप्त गर्छन् । बजारको मूल्य घटेको समयमा एउटै रकमबाट बढी इकाइ र मूल्य बढेको समयमा कम इकाइ प्राप्त हुन सक्छन् । यसरी नियमित अन्तरालमा लगानी गर्दा खरिद मूल्यको औसत लागत व्यवस्थापन गर्न सहयोग पुग्न सक्छ । तर, यसले लगानीमा नाफा सुनिश्चित गर्ने वा घाटा हुनै नदिने ग्यारेन्टी गर्दैन ।

एसआईपीमा प्राप्त हुन सक्ने प्रतिफल अनुमान गर्न एसआईपी क्याल्कुलेटर पनि प्रयोग गर्न सकिन्छ । यसमा मासिक लगानी रकम, लगानी अवधि र अपेक्षित वार्षिक प्रतिफल राखेर भविष्यमा सम्भावित रूपमा जम्मा हुने कोषको अनुमान गर्न सकिन्छ । तर, क्याल्कुलेटरले देखाउने रकम अनुमान मात्र हो । वास्तविक प्रतिफल बजारको अवस्था, कोषको कार्यसम्पादन, शुल्क र अन्य सम्बन्धित पक्षमा निर्भर रहन्छ ।

अनुशासित लगानी र दीर्घकालीन सोच महत्त्वपूर्ण

एसआईपीको प्रमुख विशेषता नियमित लगानी गर्ने बानी विकास गर्नु हो । निश्चित आम्दानीबाट प्रत्येक महिना केही रकम छुट्याएर लगानी गर्दा समयसँगै ठूलो कोष निर्माण गर्ने सम्भावना रहन्छ । लगानीबाट प्राप्त प्रतिफल पुनः लगानी गर्दा चक्रवृद्धिको प्रभावबाट सम्पत्ति बढ्न पनि सक्छ ।

यद्यपि, एसआईपीलाई निश्चित प्रतिफल दिने वा जोखिमरहित बचत योजनाका रूपमा बुझ्नु हुँदैन । म्युचुअल फन्डको प्रतिफल बजारको उतारचढावसँग जोडिएको हुन्छ र लगानी गरिएको मूलधनसमेत घट्न सक्छ । त्यसैले योजना छनोट गर्नुअघि त्यसको लगानी नीति, विगतको कार्यसम्पादन, शुल्क, जोखिम र इकाइ बिक्री वा फिर्तासम्बन्धी व्यवस्था बुझ्नु आवश्यक हुन्छ ।

सानो रकमबाट लगानी सुरु गर्न सकिने, नियमित बचतको बानी बसाल्ने र व्यावसायिक कोष व्यवस्थापनमार्फत पुँजी बजारमा सहभागी हुने अवसर प्रदान गर्ने भएकाले एसआईपी दीर्घकालीन लगानीका लागि उपयोगी विकल्प बन्न सक्छ । तर, यसबाट अपेक्षित उपलब्धि हासिल गर्न नियमितता, उपयुक्त योजना छनोट र लगानीसम्बन्धी जोखिमको सही बुझाइ उत्तिकै महत्त्वपूर्ण हुन्छ ।