निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
निषेधित क्षेत्रको भ्रमण शुल्कबाट आव २०८१/८२ मा ३० करोड १७ लाख ५२ हजार तथा आव २०८०/८१ मा २३ करोड ८९ लाख ६६ हजार सङ्कलन भएको थियो ।
काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले बर्सेनि करोडौं रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत आर्थिक वर्षमा उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो ।
आयोजना प्रमुख डा रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका एक हजार ८५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० अमेरिकी डलर तथा एक दिनको अनुमति लिएका दुई हजार ५६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर सङ्कलन भएको थियो ।
त्यस्तै, मनाङको नार फू क्षेत्रमा सात दिनको भ्रमण अनुमति लिएर प्रवेश गरेका एक हजार ३३८ पर्यटकबाट प्रतिव्यक्ति १०० डलरका दरले शुल्क उठेको थियो । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने र उक्त रकम सङ्घीय सरकारको राजस्वमा जम्मा हुने उनले बताए । निषेधित क्षेत्रको भ्रमण शुल्कबाट आव २०८१/८२ मा ३० करोड १७ लाख ५२ हजार तथा आव २०८०/८१ मा २३ करोड ८९ लाख ६६ हजार सङ्कलन भएको थियो । तिब्बतसँग सीमा जोडिएका केही क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । उपल्लो मुस्ताङ र नार फू क्षेत्रमा मुख्यतः पदयात्राका लागि पर्यटक पुग्ने गरेका छन् ।
यसैबीच, अन्नपूर्ण संरक्षण क्षेत्रका अन्य भागमा भ्रमण गर्ने विदेशी पर्यटकबाट गत आवमा ६७ करोड ७५ लाख ९० हजार ९८६ राजस्व सङ्कलन भएको आयोजना प्रमुख कडरियाले बताए । आयोजना कार्यालयले दक्षिण एसियाली मुलुकका पर्यटकबाट एक हजार र अन्य मुलुकका पर्यटकबाट रु तीन हजार (भ्याटसहित) प्रवेश शुल्क लिने गरेको छ ।
गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटक पुगेका थिए । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार १४५ र अन्य मुलुकका एक लाख २४ हजार ३३१ पर्यटक थिए । सबैभन्दा बढी तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
पर्यटकको सङ्ख्या बढेसँगै प्रवेश शुल्कबाट हुने आम्दानी पनि हालसम्मकै उच्च बनेको छ । आव २०८१/८२ मा पर्यटक शुल्कबापत कुल ४६ करोड ४८ लाख ८१ हजार ४८४ सङ्कलन भएको थियो । आव २०८०/८१ मा यस्तो आम्दानी ३८ करोड ९४ लाख ६१ हजार ४८३ रहेको थियो । आयोजना कार्यालयका अनुसार पर्यटक शुल्कलगायतबाट प्राप्त रकम संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गरिँदै आएको छ ।