विश्वव्यापी साइबर सुरक्षा जोखिमपछि राष्ट्र बैंकको वेबसाइट रूपमा अस्थायी बन्द
वेबसाइट तथा अन्य सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमायाचना गरेको छ।
काठमाडौं । विश्वव्यापी रूपमा देखिएको गम्भीर साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।
केन्द्रीय बैंकले आज (२०८३ कात्तिक ६ गते) अत्यन्त जरुरी सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण तथा सुरक्षा जोखिमबाट बच्न केही समयका लागि सेवा स्थगित गरिएको जनाएको हो ।
वेबसाइट तथा अन्य सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमायाचना गरेको छ । सेवा स्थगित रहेको अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीहरू आधिकारिक सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने बैंकले स्पष्ट पारेको छ ।
यसैबीच, विश्वव्यापी साइबर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक तथा विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बैंकले सर्भरमा प्रयोग भइरहेका प्रणालीहरूको सुरक्षा सुदृढ गर्न, आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न तथा नियमित साइबर सुरक्षा निगरानी बढाउन सम्बन्धित सबै निकायलाई विशेष अपिल गरेको छ ।
सम्भावित साइबर जोखिमबाट वित्तीय प्रणालीलाई सुरक्षित राख्न र सेवा प्रवाहमा हुन सक्ने अवरोध न्यूनीकरण गर्न सम्बन्धित संस्थाहरूले समयमै आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने राष्ट्र बैंकको आग्रह छ ।