नेपालका तीन जलवायु अनुकूलन परियोजना स्वीकृत, साढे ४ करोड डलर सहयोग जुट्ने

प्रकृतिमा आधारित उपाय अपनाएर कोशी क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण गर्ने र जलवायु परिवर्तनका असर सामना गर्न सक्ने क्षमता बढाउने उद्देश्यले यस परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ।

काठमाडौं । जलवायु परिवर्तनका कारण बढ्दो बाढीपहिरोको जोखिम न्यूनीकरण, पारिस्थितिक प्रणालीको संरक्षण र स्थानीय समुदायको उत्थानशीलता बढाउन नेपालले अन्तर्राष्ट्रियस्तरबाट साढे ४ करोड अमेरिकी डलरभन्दा बढी सहयोग पाउने भएको छ ।

अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले नेपालले प्रस्ताव गरेका तीनवटै जलवायु अनुकूलन परियोजना स्वीकृत गरेको हो। यी परियोजनामार्फत कोशी क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनी प्रदेशका समुदायको जलवायु उत्थानशीलता बढाउने काम गरिनेछ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार जलवायु अनुकूलनका लागि विश्वभरका विभिन्न देशले सीमित वित्तीय स्रोतबाट सहयोग मागिरहेका बेला नेपालका तीनवटै प्रस्ताव स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो । मन्त्री गीता चौधरीले यसबाट जलवायु परिवर्तनले सिर्जना गरेको आर्थिक भार कम गर्न र प्राकृतिक विपद्का जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने बताएकी छन् ।

स्वीकृत परियोजनामध्ये कोशी क्षेत्रमा सञ्चालन हुने ‘ग्रिन कोशी’ प्रमुख छ । प्रकृतिमा आधारित उपाय अपनाएर कोशी क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण गर्ने र जलवायु परिवर्तनका असर सामना गर्न सक्ने क्षमता बढाउने उद्देश्यले यस परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले परियोजना कार्यान्वयन गर्नेछ ।

बाढी, नदी कटान, भूक्षय तथा अन्य पर्यावरणीय समस्याको जोखिम सामना गरिरहेको कोशी क्षेत्रमा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिइनेछ। प्रकृतिमा आधारित समाधानमार्फत वातावरण संरक्षणसँगै स्थानीय समुदायको उत्थानशीलता बढाउने परियोजनाको लक्ष्य छ ।

हिन्दुकुश हिमालय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली सुदृढ बनाउने अर्को परियोजनाका लागि तीन करोड अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ। ‘स्ट्रेन्थेनिङ एडप्टेसन एन्ड फ्लड एन्ड ल्यान्डस्लाइड अर्ली वार्निङ फर द हिन्दुकुश हिमालय’ नामको यस परियोजनाको कार्यान्वयन अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गर्नेछ ।

जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला समयमै भरपर्दो सूचना उपलब्ध गराउनु जनधनको क्षति न्यूनीकरणका लागि महत्त्वपूर्ण मानिन्छ । परियोजनाले विपद्को जोखिम पहिचान, पूर्वसूचना प्रणालीको प्रभावकारिता र जोखिम सामना गर्ने क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

तेस्रो परियोजना लुम्बिनी प्रदेशका समुदायलाई जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न सक्षम बनाउने विषयमा केन्द्रित छ । स्थानीय नेतृत्व र प्रकृतिमैत्री जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्यले यस परियोजनाका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (युएन ह्याबिटाट) ले परियोजना कार्यान्वयन गर्नेछ ।

स्थानीय आवश्यकता र समुदायको सहभागितामा आधारित जलवायु अनुकूलनका उपाय अघि बढाउँदै विपद्को जोखिम घटाउने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने परियोजनाको लक्ष्य छ। यसले लुम्बिनी प्रदेशका समुदायलाई जलवायु परिवर्तनका असर सामना गर्न आवश्यक सीप, क्षमता र अनुकूलनका उपाय विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

तीनवटै परियोजनाका लागि प्रस्तावित सहयोग जोड्दा कुल चार करोड ४९ लाख २५ हजार ४५७ अमेरिकी डलर पुग्छ । यो सहयोग कोशी क्षेत्रको पर्यावरणीय संरक्षण, हिन्दुकुश हिमालयमा पूर्वसूचना प्रणालीको सुदृढीकरण र लुम्बिनीका समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा केन्द्रित हुनेछ ।