कारोबार योग्य सेयरलाई आधार मानेर नयाँ सूचकांक ल्याउने तयारीमा धितोपत्र बोर्ड

प्रस्तावित व्यवस्थाअनुसार हाल प्रयोगमा रहेको नेप्से परिसूचकलाई ‘नेप्से अल इक्विटी इन्डेक्स’ का रूपमा निरन्तरता दिँदै नयाँ सूचकांक पनि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको वास्तविक कारोबार अवस्थालाई प्रभावकारी रूपमा देखाउने उद्देश्यले नयाँ बेन्चमार्क सूचकांक विकास गर्ने प्रस्ताव अघि सारेको छ । बोर्डले यससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नयाँ सूचकांकको नाम ‘नेप्से बेन्चमार्क इन्डेक्स’ (एनबीआई) राख्न सकिने सुझाव दिएको छ । यद्यपि, नाम र अन्य आवश्यक विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप परामर्श गर्न सक्नेछ ।

प्रस्तावित व्यवस्थाअनुसार हाल प्रयोगमा रहेको नेप्से परिसूचकलाई ‘नेप्से अल इक्विटी इन्डेक्स’ का रूपमा निरन्तरता दिँदै नयाँ सूचकांक पनि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नयाँ सूचकांकमा बजारमा सर्वसाधारणका लागि उपलब्ध तथा स्वतन्त्र रूपमा कारोबार गर्न सकिने सेयरको मूल्यमा भएको उतारचढावलाई मुख्य आधार बनाइनेछ ।

हालको नेप्से परिसूचक सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरणका आधारमा गणना गरिन्छ । यस प्रक्रियामा संस्थापक सेयर, सरकारी स्वामित्वका सेयर तथा निश्चित अवधिसम्म कारोबार गर्न नपाइने लकइन सेयरसमेत समावेश हुन्छन् । यस्ता सेयर बजारमा नियमित रूपमा कारोबार नहुने भए पनि तिनको मूल्यले समग्र परिसूचकमा प्रभाव पार्ने गरेको छ ।

धितोपत्र बोर्डका अनुसार कुल बजार पुँजीकरणलाई मात्रै आधार बनाउँदा बजारमा वास्तवमै खरिदबिक्री भइरहेका सेयरको अवस्थाको सही प्रतिनिधित्व नहुन सक्छ । विशेषगरी संस्थापक र साधारण सेयरको कारोबार मूल्य फरक भए पनि हालको गणना विधिमा एउटै मूल्यलाई आधार मानिने अवस्थाले परिसूचकको वास्तविकतामाथि प्रश्न उठाएको छ ।

उदाहरणका लागि, कुनै बैंकको साधारण सेयर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने संस्थापक सेयरको मूल्य १०० रुपैयाँ हुन सक्छ। तर हालको नेप्से गणना प्रक्रियामा संस्थापक सेयरलाई पनि साधारण सेयरकै मूल्यका आधारमा समेटिने गरेको बोर्डको कार्यपत्रमा उल्लेख छ । नयाँ सूचकांकमा भने कारोबारयोग्य साधारण सेयरलाई मात्र समावेश गर्ने प्रस्ताव गरिएको छ ।

नयाँ सूचकांक गणना गर्दा संस्थापक सेयर, सरकार वा सरकारी निकायको रणनीतिक स्वामित्वमा रहेका कारोबार नहुने सेयर, लकइनमा रहेका सेयर तथा स्वतन्त्र रूपमा कारोबार गर्न उपलब्ध नभएका सेयरलाई बाहिर राखिनेछ । यसबाट बजारमा वास्तवमै किनबेच हुने सेयरको मूल्य परिवर्तनले परिसूचकमा पार्ने प्रभाव स्पष्ट देखिने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकम यसको एउटा उदाहरण हो । कम्पनीको कुल बजार पुँजीकरण ठूलो भए पनि यसको ९१.५३ प्रतिशत सेयर सरकारको स्वामित्वमा छ । सर्वसाधारणको स्वामित्वमा रहेको ८.४७ प्रतिशत सेयर मात्रै नयाँ सूचकांकमा गणना हुने भएकाले कम्पनीको कुल पुँजीकरणका आधारमा पर्ने प्रभावभन्दा नयाँ सूचकांकमा पर्ने प्रभाव कम हुनेछ ।

नेपालमा नेप्से परिसूचकको गणना २०५० माघ ३० गते आधार अंक १०० कायम गरी सुरु गरिएको थियो । हाल बजारमा सेन्सिटिभ इन्डेक्स, फ्लोट इन्डेक्स तथा विभिन्न क्षेत्रगत सूचकांकसमेत प्रचलनमा छन् ।

सेन्सिटिभ इन्डेक्समा नेप्सेको ‘क’ वर्गमा सूचीकृत कम्पनीका सेयरको मूल्य परिवर्तनलाई आधार बनाइन्छ । यसको गणना २०६३ पुस १७ गतेदेखि हुँदै आएको हो। त्यस्तै, फ्लोट इन्डेक्समा स्वतन्त्र रूपमा कारोबार गर्न उपलब्ध सेयरको मूल्यलाई आधार मानिन्छ । यसमा संस्थापक सेयर समावेश गरिँदैन । फ्लोट इन्डेक्सको गणना २०६५ भदौ ३० गतेदेखि सुरु भएको हो ।

हाल नेप्सेमा वाणिज्य बैंक, विकास बैंक, वित्त, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, लगानी, व्यापार, जलविद्युत् र अन्य गरी १२ वटा क्षेत्रगत सूचकांक पनि गणना हुँदै आएका छन् ।

नयाँ बेन्चमार्क सूचकांक लागू भएमा लगानीकर्ता तथा बजार विश्लेषकले वास्तविक कारोबारयोग्य सेयरको मूल्यमा आएको परिवर्तनलाई अझ स्पष्ट रूपमा मूल्यांकन गर्न सक्ने अपेक्षा गरिएको छ । यसले समग्र बजारको प्रवृत्ति बुझ्न र लगानीसम्बन्धी विश्लेषण गर्न थप सहयोग पुर्‍याउन सक्छ ।